
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहका विचारलाई आत्मसात् गर्दै अघि बढ्न सके मुलुकको सामाजिक–आर्थिक रूपान्तरणमा योगदान पुग्न जाने बताउनु भएको छ ।
पृथ्वीनारायण शाहको ३०० औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज शुभकामना जारी गर्दै राष्ट्रपतिले भन्नु भएको छ, ‘महत्त्वपूर्ण राजनीतिक परिवर्तन पछि आर्थिक समृद्धि हासिल गर्नुपर्ने वर्तमान चरणमा नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहका दूरदर्शी विचारहरूलाई आत्मसात् गर्दै अघि बढ्न सके मुलुकको सामाजिक-आर्थिक रूपान्तरणमा योगदान पुग्न जानेछ ।’
नेपाल एकीकरणमार्फत यहाँका मौलिक संस्कृति, भाषा र परम्परालाई संरक्षण गरी सदृढ राष्ट्रिय एकता निर्माण गर्ने फराकिलो आधार भूमिसमेत तयार भएको राष्ट्रपतिको सन्देशमा उल्लेख छ ।
राष्ट्रपतिले सन्देशमा भन्नु भएको छ, ‘नेपाल एकीकरणको अभीष्ट मुलुकभित्र उपलब्ध प्राकृतिक स्रोत तथा सम्पदाको उपयोग गरी आत्मनिर्भर, स्वाधीन र स्वावलम्बी अर्थन्तन्त्रसहितको सबल राष्ट्र निर्माण गर्नु नै थियो । नेपाल एकीकरणमार्फत् यहाँका मौलिक संस्कृति, भाषा र परम्परालाई संरक्षण गरी सदृढ राष्ट्रिय एकता निर्माण गर्ने फराकिलो आधारभूमि समेत तयार भएको थियो । तत्कालीन समयमा पृथ्वीनारायणले देशको सामाजिक, आर्थिक एवं वैदेशिक नीतिका सन्दर्भमा छाडेर गएका सन्देश वर्तमान अवस्थामा पनि उत्तिकै मननीय रहेका छन् ।’
तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहको नेतृत्वमा तराई, पहाड र हिमालका नागरिकले नेपाल राष्ट्रको भौगोलिक र भावनात्मक एकीकरणमा ठूलो योगदान गरेको तथ्य इतिहासमा अङ्कित रहेको राष्ट्रपतिले स्मरण गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले वीर पुर्खाको बलिदानबाट निर्माण भएको यस मातृभूमिलाई उन्नतिको मार्गमा लैजाने अभिभारा हामी सबैको भएको बताउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्