१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रदेश-२ को नाम र राजधानी मतदानबाटै टुंग्याइने


286
Shares

काठमाडौं, पुस २७ । प्रदेश २ को स्थायी राजधानी र नामाकरणका लागि प्रदेशसभामा मतदान हुने भएको छ ।

प्रदेशसभामा पेस भएका नामकरण सम्बन्धी प्रस्तावमध्ये कुनैमा पनि सहमति नभएपछि मतदानबाट टुंग्याइने प्रदेशसभा सचिवालयले जनाएको छ । सभामुख सरोजकुमार यादवले बोलाएको सर्वदलीय बैठकमा प्रदेशको नाम र राजधानीको प्रस्तावमा मतदान गर्ने सहमति भएको हो ।

सभामुख यादवको संयोजकत्मा प्रदेशको नाम र स्थायी राजधानीका लागि आएका प्रस्तावमा छलफल गर्न संसदीय समिति गठन गरिएको थियो । सो समितिले प्रदेशसभामा दर्ता भएको प्रदेशको नाम मधेस, जानकी, मिथिला भोजपुरा, मध्य मधेस र राजधानीको प्रस्ताव जनकपुरधाम र वीरगञ्जका सांसदहरू र संसदीय दलका नेताहरूसँग छलफल गरेको थियो ।

छलफलमा कुनै पनि प्रस्तावमाथि सहमति नजुटेको बताइएको छ । प्रदेशको नाम र स्थायी राजधानीका लागि प्रदेशसभामा दुई तिहाइ बहुमत चाहिन्छ । जनता समाजवादी पार्टी नेपाल, नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले प्रस्ताव गरेको मधेस प्रदेशको प्रस्तावमा ६३ जना सांसद छन् ।

मधेश प्रदेश प्रस्ताव पारित गराउन थप ७ जनाले समर्थन जनाए दुई तिहाई बहुमतले पारित गर्न सकिन्छ ।

अन्य प्रस्तावमध्ये जानकी प्रदेशको पक्षमा नेकपा एकीकृत समाजवादी र नेकपा एमालेका २१ जना छन् भने १९ सांसद रहेको काँग्रेस भने मिथिला भोजपुरा प्रदेशको पक्षमा छ ।