१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


धादिङको रुबीभ्याली पहिरोमा बेपत्ता हुनेको पहिचान खुल्यो


3.679k
Shares

धादिङ । धादिङको रुबी भ्याली गाउँपालिका–१ मा बाटो खन्ने क्रममा पहिरो जाँदा बेपत्ता हुने तीन जनाकै पहिचान खुलेको छ । उत्तरी धादिङको रुबिभ्याली–१ पुरुमा आज बिहान पहिरोले डोजरसहित तीन जना पुरिएका थिए ।

पहिरोमा परी बेपत्ता हुनेमा डोजर चालक सिन्धुपाल्चोकका आकाश तामाङ, सहचालक राजु तामाङ र स्थानीय धन तामाङ रहेका छन् ।

सडक खन्दै गरेको बेला माथिबाट खसेको पहिरो अहिले पनि खस्नेक्रम नरोकिएकोले उद्धार गर्न कठिन भएको स्थानीय शिक्षक टेक घलेले जानकारी दिनुभयो ।

रुबिभ्याली–१ को पुरुबाट लिङ्जो जाने सडकको नयाँ ट्रयाक खोल्ने क्रममा पहिरो खसेको हो ।

घटनास्थल नजिकको सेर्तुङ प्रहरी चौकी पनि चार घण्टाको पैदल दूरीमा पर्ने भएकाले विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।