१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नवलपुरको जिल्ला अस्पतालमा दरबन्दी अनुसारको जनशक्ति नहुँदा कोरोना महामारीमा झन् सकस


78
Shares

नवलपुर । सरकारले नवलपुरको कावासोती नगरपालिका– १६ डण्डास्थित मध्यविन्दु सामुदायिक अस्पताललाई आजभन्दा दुइ वर्ष अगाडि जिल्ला अस्पतालमा रुपान्तरण गरेको थियो । तर अस्पतालमा दक्ष जनशक्तिको अभाव हुँदा प्रभावकारी सेवा दिन भने सकिरहेको छैन ।

नवलपुरको मध्यविन्दु जिल्ला अस्पतालमा भवनका साथै आवश्यक स्वास्थ्यकर्मीको अभाव हुँदा बिरामीको उपचारमा समस्या भएको छ । कोरोना महामारीकाबिच सिमित स्रोत साधनको भरमा रहेको अस्पतालमा दरबन्दी अनुसारको चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या भएको अस्पतालले जनाएको छ । कोरोना महामारीकै अवधिमा थुप्रै उपकरण र स्वास्थ्य सामाग्री जुटाएको अस्पतालमा भवन र दरबन्दी अनुसारका मेडिकल अधिकृत, बाल रोग तथा स्त्री रोगका चिकित्सक, प्रशासनिक कर्मचारी, विशेषज्ञ तथा स्वास्थ्यकर्मी अभाव रहेका छन् ।

अस्पतालमा आइसियू र भेन्टिलेटर सञ्चालनका लागि आवश्यक मेडिकल अधिकृतको अभाव छ । जिल्ला अस्पतालमा १ सय ५० जना स्वास्थ्यकर्मीको दरबन्दी भएपनि हाल ६८ जनामात्र स्वास्थ्यकर्मीले सेवा दिइरहेका छन् । अस्पतालमा उपकरण थपिँदै गएको छ । तर ती उपकरणहरु निरन्तर सञ्चालन गर्नका लागि दक्ष जनशक्तिको अभाव छ । अहिले अति आवश्यक ठाँउमा अस्पतालले नै पारिश्रमिक दिएर कर्मचारी राखेका छन् ।

सरकारले १५ शैयाको अस्पताललाई २०७५ साल फाल्गुन २८ गते ५० शैयामा रुपान्तरण गरेको थियो । दैनिक दुई सयभन्दा धेरै बिरामी आउने गरेको अस्पतालमा भवनको अभावका कारण बिरामीले राम्रो सेवा नपाएको गुनासो आउने गरेको छ ।