४ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025


भवन संहिता पूर्णपालना गर्न प्रधानमन्त्रीको आह्वान


143
Shares

काठमाडौं, माघ २ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय भवन संहिताको पूर्ण पालना गरी भवन निर्माण गर्न सबैलाई आह्वान गर्नु भएको छ ।

प्रधानमन्त्री देउवाले भूकम्पलगायतका विपद् जोखिमबाट बच्नका लागि पनि सबैले भवन संहिताको पूर्ण पालना गर्नुको विकल्प नरहेको पनि स्पष्ट पार्नु भयो । २४ औं भूकम्प सुरक्षा दिवसको अवसर पारेर आज ललितपुरमा आयोजित एक कार्यक्रमलाई ‘भर्चुअल’ माध्यमबाट सम्बोधन गर्दै उहाँले विपद् जोखिम न्यूनिकरणलाई ध्यानमा राखेर स्थानीय तहले पनि भवन निर्माण गर्दा भवन संहिताको पूर्ण पालना गराउनुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री देउवाले विगतको अनुभव र पाठबाट सिकेर विपदका बेला तत्काल दक्ष जनशक्तिको परिचालन हुने गरी आवश्यक व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभयो ।

कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँणले भूकम्प प्रतिरोधी भवन निर्माण गरेर त्यसको जोखिम न्यूनिकरणको अभियानमा जुटन् प्रदेश र स्थानीय तहको सरकारलाई आग्रह गर्नु भयो । उहाँले त्यसका लागि संघीय सरकारले आवश्यक कानुनको व्यवस्था गरेको बताउनुभयो ।

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले स्थानीय तहले भवन संहिताको पालना गरेर भवन निर्माण गरिदिए विपद् जोखिम न्यूनिकरण कार्यलाई प्रभावकारी ढंगले अघि बढाउन सकिने बताउनु भयो । संविधानले विपद् जोखिम न्यूनिकरणमा तीन वटै तहका सरकारले भूमिकालाई तोकि दिएपनि काम हुन नसकेको उहाँको भनाइ थियो ।

मन्त्री झाँक्रीले भवन संहिताको पूर्ण पालना गरेर भूकम्प प्रतिरोधी भवन निर्माण गर्न पनि सबैलाई आग्रह गर्नु भयो ।