२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


इलाम पुग्ने राजमार्ग भत्किँदा समस्या


624
Shares

इलाम । इलाम सदरमुकामको धोबिधारा जिरो खण्डमा पहिरोले मेचीराजमार्ग भत्किएपछि सहज रुपमा यातायात संचालन हुन सकेको छैन । तराईबाट पहाडी जिल्ला जोड्ने एक मात्र राजमार्ग भत्किँदा वैकल्पिक सडक भएर यातायात आउजाउ गरेपनि ढुवानीका सवारी साधन इलाम बजारमा राति मात्रै संचालन गर्न दिँदा समस्या भएको हो ।

मेची राजमार्गको इलामस्थित धोविधारा खण्डको पुरै सडक भत्किएपछि यातायातका साधन वैकल्पिक रुट प्रयोग गरी संचालन गरिँदै आएको हो । सवारी साधन सञ्चालन हुन नसक्ने गरी सडक भत्किएपछि विकल्पका रूपमा बजार क्षेत्रबाट आवागमन सञ्चालन गरिएपनि ढुवानीका सवारी साधन रातिमात्रै चलाउने व्यवस्था गरिएको छ ।

गत कार्तिकमा परेको वेमौसमी वर्षातले राजमार्गको १ सय मिटर सडक खण्ड बगाएपछि बजार क्षेत्रबाट हलुका र यात्रु बाहक सावरीसाधन दिनभर संचालन गरिँदै आएको हो । पाँचथर र ताप्लेजुङ्ग बाइपासका लागि इलाम सदरमुकाम भित्रको सडक छनौट गरिएको छ । बजार क्षेत्रको सडक साँघुरो र सर्वसाधारणको बढी भिड हुने भएकाले रातिमात्रै ढुवानीका सवारीसाधन संचालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामका प्रमुख जनक तिमिसनाले बताउनुभयो ।

राजमार्ग भएर झापाबाट ताप्लेजुङ्ग जाने आउने ढुवानीका सवारीसाधन इलामको जिरो किलोमिटर र धोवीधारा क्षेत्रमा दिनभर रोकिने गरेको छ । राजमार्ग अवरुद्ध भएपछि इलाम बजारभित्रवाट सवारी आवागमनलाई निरन्तरता दिँदा सडकको भारवहन क्षमता कम भएकाले बजार क्षेत्रको सडक नै भत्किन थालेको छ । ठुला भारका इक्युमेन्टहरु आवागमनमा निषेध गरिएपनि ट्रक, टिपर र कृषिजन्य ढुवानीका सवारीसाधन संचालनले बजार क्षेत्रका जनता त्रसित भएको उद्योग बाणिज्य संघ इलामका अध्यक्ष इश्वर चिपालुले बताउनुभयो ।

यता, सडक डिभिजन कार्यालय इलामले सडक मर्मतको काम गरिरहेको भएपनि निर्माण सम्पन्न हुन अझै तीन महिना लाग्ने जनाएको छ ।

अहिले राजमार्गमा गुड्ने सवारीसाधनलाई बजार क्षेत्रबाट घुमाउनु पर्ने बाध्यताले जाम बढेको छ  । झापातर्फबाट आउने गाडीलाई जिरो किलोमिटरबाट र पाँचथरतर्फबाट आउने गाडीलाई धोबीधाराबाट एकतर्फी रूपमा आउजाउ गर्ने व्यवस्था मिलाइएको छ ।