
काठमाडौं । छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा २ लाख ५८ हजार ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा हालसम्म कोभिड–१९ का संक्रमितको कुल संख्या ३ करोड ७३ लाख ८० हजार पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ३ सय ८५ जना कोराना संक्रमितको मृत्यु भएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो पटक थपिएका मृतकको संख्यासँगै भारतमा हालसम्म कुल ४ लाख ८६ हजार ४ सय ५१ जना संक्रमितको मृत्यु भएको छ ।
यसबाहेक, कोभिड–१९ को नयाँ ओमिक्रोन भेरियन्टका संक्रमितको संख्या दैनिक ६.०२ प्रतिशतले वृद्धि भएको छ । पछिल्लो २४ घण्टामा ४ सय ६६ जना ओमिक्रोन भेरियन्टका संक्रमित थपिएसँगै यो भेरियन्टबाट संक्रमित हुनेको कुल संख्या ८ हजार २ सय ९ पुगेको भारतीय संचार माध्यमले जनाएका छन् ।
भारतमा तेस्रो लहरसँगै सक्रिय संक्रमितको संख्या पनि बढ्दै गएको छ । हाल सक्रिय संक्रमितको संख्या १६ लाख ५६ हजार ३ सय ४१ रहेको छ भने निको हुने दर ९४.२७ रहेको छ । त्यस्तै दैनिक संक्रमण दर १९.६५ प्रतिशत रहेको छ ।
भारत सरकारले कोभिड–१९ को खोप लगाउन सुरु गरेको १ वर्ष पुरा भएको छ । सो अवधिमा एक अर्ब ५७ करोड भन्दा बढी डोज खोप भारतीय नागरिकले लगाई सकेको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्