१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


शहरी विकास मन्त्री झाँक्रीका सय दिन : नीतिगत सुधारको कामलाई प्राथमिकत दिएको दाबी


182
Shares

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले नीतिगत सुधारको कामलाई प्राथमिकता दिएर काम गरिरहेको बताउनुभएको छ ।

पदबहाली गरेको सय दिन पुगेको सन्दर्भमा मन्त्री झाँक्रीले सोमबार पत्रकार सम्मेलन गरेर कार्य प्रगति विवरणको सार्वजनिकीकरण गर्नुभएको हो । उहाँले आफूले मन्त्रालयमा नीतिगत सुधारको कामलाई प्राथमिकता दिएको बताउनुभयो ।

उहाँले नीतिगत सुधार गर्ने क्रममा विद्यमान राष्ट्रिय शहरी नीतिलाई परिमार्जन गरी संघीय ढाँचा अनुकूल बनाउन प्रस्तावित नीतिका उद्देश्यलाई अन्तिम रुप दिइ प्रदेश र स्थानीय तह लगायतका सरोकारवालासँग अन्तरक्रिया गर्ने तयारी गरिएको बताउनुभयो ।

उहाँले आफु मन्त्रीको रुपमा कार्यभार सम्हालेसँगै बागमती सभ्यता संरक्षण तथा विकास सम्बन्धी विधेयकको मस्यौदालाई अन्तिम रुप दिइएको, शहरी पूर्वाधार विकास निगम÷नगर वित्त निगम स्थापनाका लागि विधेयकको मस्यौदालाई अन्तिम रुप दिइएको र उपत्यकाका सबै नगरपालिकामा बस्ती विकास, शहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत मापदण्डमा एकरुपता कायम गर्न विद्यमान मापदण्डको परिमार्जित मस्यौदा तयार पारिएको उल्लेख गर्नुभयो ।

मन्त्री झाँक्रीले मन्त्रालय र अन्तर्गतका निकायहरु बाट हुने खरिद कार्य उपभोक्ता समितिमार्फत् गराउन रोक लगाइएको जानकारी दिनुभयो ।

मन्त्री झाँक्रीले यस अवधिमा मन्त्रालयले नगर विकास कोष अन्र्तगत खानेपानी, बसपार्क, व्यवसायिक भवन, रिफ्रेस सेन्टर लगायतका पूर्वाधार निर्माणका कार्यहरुमा नगरपालिकाहरुसँग सहकार्य गरी चालू आर्थिक वर्षमा करीब ८६ करोड ऋण लगानी र लक्ष्य अनुरुप ऋण असूली भएको तथा बागमती नदी संरक्षण र सौन्दर्यीकरण कार्यका लागि काठमाडौंको गोकर्णदेखि गुह्येश्वरी सम्मको क्षेत्रमा अनाधिकृत ढंगले निर्माण गरिएका २७ वटा घरटहराहरु हटाइएको बताइएको बताउनुभयो ।