१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मलाई दक्षिण कोरियामा कामदार पठाउन चर्को दवाव छ : श्रममन्त्री श्रेष्ठ


637
Shares

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले दक्षिण कोरियामा कामदार पठाउन चर्को दवाव परेको बताउनुभएको छ ।

इपिएस प्रणाली पास गरेर पनि कोरिया जान नपाएकासँगको अन्तरक्रिया कार्यक्रममा मन्त्री श्रेष्ठ दक्षिण कोरियामा मौसमी कामदार पठाउन आफूमाथि चर्को दवाव परिरहेको बताउनुभयो ।

उहाँले इपिएस प्रणाली पास गरेर बसेकालाई मार पर्छ भनेर आफूले मौसमी कामदारलाई पठाउने त्यो दवावलाई बेवास्ता गरिरहेको बताउनुभयो ।

मन्त्री श्रेष्ठले इसिएस प्रणाली पास गरेकाहरूलाई आफूले एक हप्ताभित्रै कोरिया पठाउन चाहेको पनि स्पष्ट पार्नुभयो । उहाँले त्यसका लागि कोरियाली समकक्षीसँग फोन वार्ताको प्रयास भइरहेको पनि बताउनुभयो ।

यता, पीडितहरूले भने तत्काल कोरिया पठाउने व्यवस्था गर्न मन्त्री श्रेष्ठसँग माग गरेका थिए । लुम्बिनी प्रदेशकी भावना बस्नेतले तत्काल आफूहरूलाई कोरिया पठाउने आवश्यक व्यवस्था मिलाउन मन्त्री श्रेष्ठसँग आग्रह गर्नुभयो ।

उहाँले कामदार छनोटमा पनि महिलामाथि विभेद हुने भन्दै त्यसको अन्त्य गर्न पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

बागमती प्रदेशका अनमोल भट्टराईले कोभिड संक्रमण हुन नदिनेगरी विदेश जानेलाई बसोबासको व्यवस्था मिलाउन पनि सरकारसँग माग गर्नुभयो ।

उहाँले सरकारले आफ्ना नागरिकलाई प्रक्रिया पूरा गरेर पनि विदेश पठाउने काममा ध्यान दिन नसकेको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।
भट्टराईले भीडको बीचमा कोभिड परीक्षण गर्नुको कुनै अर्थ नहुने तर्क गर्नुभयो ।