१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोरोनाभाइरस विरुद्धको बुस्टर डोज लगाउन सुरु, सुदूरपश्चिममा भने खोप अभाव


325
Shares

काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको बुस्टर डोज खोप दिन सुरु गरेको छ ।

दुवै खोप पूरा गरेका अग्रपंक्तिमा रहेर जोखिमपूर्ण काम गर्नेहरूलाई यसअघि लगाइएको खोपको थप एक मात्रा दिन थालिएको हो ।

कोरोना संक्रमणको जोखिम बढेलगत्तै यो वर्गलाई खोप दिन सुरु भए पनि समयमा खोप पु¥याउन नसक्दा सुदुरपश्चिम प्रदेशमा भने बुस्टर खोप अभियान सुरु हुन सकेन ।

सरकारले पहिलो चरणमा अग्रपंक्ति र सार्वजनिक सेवामा खटिएका ९ लाख ४९ हजार ८ सय ८७ जनालाई बुस्टर डोज खोप प्रतिबद्धता जनाएको छ । सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स तथा शववाहन चालक, महिला स्वयंसेविका, विमानस्थल कर्मचारी, बैंकिङ् र सञ्चारकर्मीलगायतले यो सेवा पाउने छन् ।

दक्षिण अफ्रिकाबाट फैलिएको ओमिक्रोन भेरियन्टले पुनः जोखिम बढाएपछि सरकारले दुवै मात्रा खोप लगाएको ६ महिना पूरा भएकाहरूलाई बुस्टर डोज खोप दिने निर्णय गरेको हो । खोप अभावमा सुदुरपश्चिम प्रदेशमा भने यो अभियान प्रभावित भएको छ ।

दोस्रो लहरको संक्रमण कम हुदै गएको ५ महिनापछि जोखिम बढ्न थालेसँगै स्वास्थ्यकर्मी धमाधम संक्रमित भइरहेक छन् । बुस्टर डोज खोप लगाउन पाएकोमा उनीहरू खुसी छन् । यद्यपि केही समयअघि नै खोप लगाउन पाएको भए धेरै स्वास्थ्यकर्मी सुरक्षित हुने उनीहरूको तर्क छ ।

सरकारले माघ १४ देखि ६० बर्ष माथिका ज्येष्ठ नागरिक र रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरुलाई वुस्टर डोज खोप दिने भनेको छ । खोप उपलब्ध भएअनुसार अन्य व्यक्तिहरूलाई समेत बुस्टर डोज खोप प्रदान गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म ५२ दशमलव १ प्रतिशत व्यक्तिले एक डोज खोप लगाएका छन् भने ३९ दशमलव ९ प्रतिशत व्यक्तिले दोस्रो डोज पूरा गरेका छन् ।

९५ लाख ५७ हजार डोज खोप भण्डारमा रहेको छ । भण्डारमा पर्याप्त खोप भए पनि व्यवस्थापकीय अलमलका कारण खोप लगाउन नपाउँदा संक्रमित बढ्ने खतरा भने यथावत छ ।