
भोजपुर । भोजपुरको सदरमुकाम तथा आसपासका क्षेत्रमा वर्षौदेखिको खानेपानीको समस्या समाधान भएको छ । नेपाल सरकारको ७० प्रतिशत, नगर विकास कोषको २५ प्रतिशत र स्थानीय उपभोक्ताको ५ प्रतिशत लागतमा तीन भंगाले खानेपानी आयोजनाको काम सम्पन्न भएको छ ।
भोजपुरमा मेलम्ची आयोजना झै लिइएको तीनभंगाले खानेपानी आयोजना सम्पन्न भएसँगै भोजपुर सदरमुकाम र आसपासमा देखिएको खानेपानीको समस्या टरेको छ । कुल ४९ करोड ७८ लाख ९८ हजार रुपैयाको लागतमा निमार्णधिन खानेपानी आयोजनाले सदरमुकाममा खानेपानी समस्या समाधान गरी भोजपुर सदरमुकाम, पोखरे, देउराली, भंगेरी, पालुवा, बोखिम र टक्सारका करिब २ हजार २ सय ८० घरधुरीको घरघरमा खानेपानी वितरण सुरु गरिएको छ ।
यसअघि दैनिक २ लाख लिटरको हाराहारीमा वितरण हुने खानेपानी आपूर्ति बढेर अहिले करिब १० लाख लिटर पुगेको छ । मुहानबाट करिब ४० किलोमिटर प्रशारण लाइन र ७६ किलोमिटर वितरण लाइन गरी १ सय १६ किलोमिटर लामो आयोजनाको काम सम्पन्न गरी पानी वितरण भएको हो ।
करिब ३ बर्षको अबधिमा आयोजना सम्पन्न भएपछि तिन भंगालेको खानेपानी प्रशोधन केन्द्र काफ्ले हुदै तत्कालका लागी सिलिचुङ खानेपानी तथा सरसफाई मूल उपभोक्ता समितिको ट्यांकी मार्फत पानी वितरण गरिएको छ । अहिले सदरमुकाममा खानेपानीको पुरानै तालिका अनुसार बिहान, बेलुका दैनिक ७÷८ घण्टा पानी वितरण हुदै आएको छ ।
वर्षेनी हिउँद याममा सुख्खा बढेसगैँ खानेपानीको मुहान सुकेर पर्याप्त पानी नआउँदा सदरमुकाम लगायत आसपासका क्षेत्रमा खानेपानीको हाहाकारसँगै सुख्खा बढ्दै गएको थियो अब भने त्यो समस्या हट्ने भएको हो ।
सदरमुकाममा खानेपानी पुगेपछि भोजपुर सदरमुकामबासी हर्षित बनेका छन् । अब, भोजपुरमा सहरीकरण, पर्यटन प्रर्बद्धनसँगै स्थानीय कृषकहरुको आयश्रोत वृद्धि हुने स्थानीयको अपेक्षा छ ।
जिल्ला सदरमुकाम लगायत आसपासका क्षेत्रको खानेपानी समस्या समाधानका लागि भोजपुर नगरपालिकाले गरेको यो महत्वपुर्ण कार्य नगरवासी र जिल्लावासीका लागी सर्हानिय छ । अब भने जिल्ला सरकारमुकाम लगायत आसपासका क्षेत्रको करिब ५० बर्षको खानेपानीको समस्या दुर भएको छ । स्थानीय जनप्रतिनिधि आएपछिको उपलल्धी हेर्नै हो भने तिन भंगाले खानेपानी आयोजना एक महत्वपुर्ण उदाहरण भएको छ ।
प्रतिक्रिया दिनुहोस्