
काठमाडौं, माघ ४ । नेपाल आयल निगमले १५ दिनमा २ अर्ब २४ करोड घाटा हुने जनाएको छ ।
निगमले मंगलबार एक विज्ञप्ति जारी गर्दै १५ दिनभित्रै पेट्रोलियम पदार्थ, डिजेल, एल पी ग्यास खरिदमा दैनिक करोडौं घाटा व्यहोरीरहेका बताएको हो ।
निगमले एल पी ग्यास खरिदमा १५ दिनमै १ अर्ब १४ करोड ८६ लाख, पेट्रोलियम पदार्थ आयातमा १५ दिनमै ४२ करोड ७९ लाख, डिजेल आयातमा ७९ करोड ९९ लाख घाटा व्यहोरिरहेको जनाएको छ ।
यस्तै मट्टितेल खरिदमा १५ दिनमा १ करोड ८७ लाख र हवाई इन्धन खरिदमा ११ करोड ३७ लाख नाफा कमाएको पनि निगमले जनाएको छ । पछिल्लो समय दैनिक घाटाको आकार बढ्न थालेपछि निगमले तत्काल ऋण तिर्नका लागि १२ अर्ब रुपैयाँ आवाश्यक रहेको जनाएको छ ।
निगमले मूल्य स्थिरीकरण कोषमा रहेको रकम प्रयोग गर्न आवाश्यक रहेको बताएको हो । निगमले आगामी ३ महिनाको पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि १२ अर्ब आवाश्यक रहेको जानकारी दिएको हो ।
निगमले पुस मसान्तसम्ममा मात्रै १९ अर्ब २६ करोड घाटा व्यहोरिसकेको छ । अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्यवृद्धिका कारण निगमको यस्तो घाटा बढ्दै माघ १७ गतेसम्म थप २ अर्ब घाटा व्यहोर्दै २१ अर्ब ५० करोड घाटा व्यहोर्नुपर्ने जनाएको छ ।
निगमले आगामी दिनमा पेट्रोलियम पदार्थको मूल्यमा केही समायोजन गरिए पनि मासिक ४ अर्ब घाटामै रहने भन्दै तत्काल १२ अर्ब रुपैयाँ आवाश्यक रहेको बताएको हो ।
प्रतिक्रिया दिनुहोस्