
काठमाडौं । बेलायतले शून्य लागतमा नेपाली नर्स लैजाने विषयको अन्तिम टुङ्गो लागेको छ ।
नेपाल र बेलायत सरकारबीच शून्य लागतमा १० हजार नर्स लैजाने सम्झौता हुन लागेको हो । बेलायतको ‘डिपार्टमेन्ट अफ हेल्थ सर्भिस’ र ‘नेशनल हेल्थ सर्भिस’ मा काम गर्ने गरी नेपाली नर्स लैजाने तयारी गरिएको हो ।
श्रमिक लैजाने मोडालिटीको बारेमा छलफल भइरहेको श्रम, रोजगार तथा सामाजीक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
बेलायतले दक्षिण एसियाली क्षेत्रबाट स्वास्थ्य क्षेत्रमा एक लाख श्रमिक भित्र्याउने घोषणा गरेको छ । नेपालमा विभिन्न तहका २५ हजार बढी नर्सिङ जनशक्ति रहेका छन् । यसमध्ये ९ हजार सरकारी सेवामा कार्यरत छन् भने अन्य नीजि क्षेत्रमा कार्यरत छन् ।
योसँगै बेलायत सरकार नेपाली नर्सहरूको क्षमता अभिवृद्धिका लागि लगानी गर्न पनि इच्छुक रहेको मन्त्री श्रेष्ठले बताउनुभयो ।
यसका साथै, मन्त्रालयले फ्रान्स र माल्दिभ्समा पनि स्वास्थ्य क्षेत्रमा नेपाली श्रमीक पठाउनका लागि छलफल थालेको जनाएको छ ।
न्यूनतम पारिश्रमिक, बीमा, औषधि उपचार र सुरक्षा सहितका कानुनी सुरक्षाको प्रत्याभुति हुने भएकाले सरकारले विभिन्न देशका सरकारसँग श्रम सम्झौता गर्न पहल गरिरहेको जनाएको छ ।
वैदेशिक रोजगारीलाई विविधिकरण गर्ने लक्ष्य लिएको सरकारले आकर्षक गन्तव्यको खोजी गरिरहेको पनि जनाएको छ । यसअघि जापान, इजरायल, दक्षिण कोरिया र मरिसससँग नेपालले श्रम सम्झौता गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्