१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सुनेन सरकारले बौद्धिक अपाङ्गताका अभिभावकको माग


273
Shares

चितवन । बौद्धिक अपाङ्गगता भएका व्यक्तिहरुको अभिभावकले सरकारसँग उनीहरुको हेरचाहका लागि सहयोगी र अवस्था अनुसारको सीपमूलक तालिम दिन माग गरेका छन् । शरिरमा देखिने खालको भन्दा यो प्रकारको अपाङ्गता पहिचानमा समेत समस्या रहेको भन्दै सरकारले आफूहरुको पीडा नसुनेको चितवनका अभिभावकहरुको गुनासो छ ।

झट्ट बाहिरबाट देखिने अपाङ्गता भन्दा आफूहरुको पीडा धेरै हुने गरेको बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुको भनाइ छ । अपाङ्गता सबैभन्दा जटिल भएपनि सरकारले आफूहरुको पीडा सुन्न तयार नभएको भन्दै उनीहरुले गुनासो गरेका छन् ।

पर्वतका गणेश सुवेदीको एक छोरी बौद्धिक अपाङ्ग छिन् । उनकै हेरचाहका लागि घरको एक जना सदस्यले पुरै समय दिनुपर्छ । जसका कारण आर्थिक उपार्जन गर्ने अन्य अवसर गुमिरहेको छ । त्यसैले सरकारले कम्तिमा एक जना हेरचाहा गर्ने व्यक्तिको व्यवस्था वा त्यसो नभए कम्तिमा परिवारकै सदस्यलाई केही रकम मासिक दिने व्यवस्था गरिदिन आग्रह गर्नुहुन्छ ।

उमेर अनुसार मष्तिस्कको विकास नहुँदा अध्ययनमा समेत उनीहरु पछि परिरहेका छन् । स्रोत कक्षाको व्यवस्था गरेर पढाउनुपर्ने भएपनि सरकारले पर्याप्त ध्यान नदिँदा अन्य बालबालिकासरह उनीहरु विद्यालय जान बाध्य छन् ।

बौद्धिक अपाङ्गता अभिभावक महासंघ नेपालका सदस्य जगदीशप्रसाद अर्यालले नेतृत्व तहमै रहेका उच्च ओहोदाका नेताहरु समेत पीडित रहेपनि दह्रो बहस गर्न नसकेको अनुभव छ । साथै ऐन नियममा भएको अधिकार लिनसमेत नपाएको उहाँको गुनसो छ ।

बौद्धिक अपाङ्गता अभिभावक महासंघ नेपालका अध्यक्ष राजु बस्नेतले पहिचान र अपाङ्ताको परिचय पत्र पाउन सकस हुने गरेको बताउनुभयो । अधिकांश अभिभावक रोजगारी, व्यवसाय नै छाडेर हेरचाहमा खटिएको बताउँदै परिवारको आत्मनिर्भरता बढाउन सरकारले विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुहुन्छ ।

शहरका केही परिवारले डे केयरमा राखेको भएपनि गाउँतिर अधिकांश घरभित्रै छन् । कम्तिमा हरेक स्थानीय तहमा एउटा दिवा हेरचाह केन्द्र सरकारले सञ्चालन गर्नुपर्ने माग उनीहरुको छ । २०६८ को जनगणना अनुसार १४ हजार ८ सय ८८ जना बौद्धिक अपाङ्गता भएका व्यक्तिहरु रहेका छन् । तर, यो तथ्यांक भन्दा धेरै बौद्धिक अपाङ्गता भएका व्यक्तिहरु भएपनि सबैको गणना हुन नसकेको महासंघको दावी छ ।