१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


मूल नेतृत्वले गद्दारी गर्यो, नेतृत्व साम्राज्यवाद र विस्तारवादको दलाली गर्दैः मोहन वैद्य


0
Shares

काठमाडौं, फागुन १ । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले मूल नेतृत्वले गद्दारी गर्दा जनयुद्धलाई धोका भएको बताएका छन् । उनले नेतृत्व साम्राज्यवाद र विस्तारवादको दलालीमा लागेको आरोप पनि लगाएका छन् ।

२५ औं जनयुद्ध दिवसको अवसरमा बिहीबार प्रेस विज्ञप्ति निकाली वैद्यले नवसंशोधनवादी विचलन र मूल नेतृत्वको गद्दारीका कारण जनयुद्ध र क्रान्तिको प्रक्रियाले गम्भीर धक्का खाएको जनाएका हुन् ।

माओवादीका तत्कालीन अध्यक्ष प्रचण्डतर्फ लक्षित गर्दै उनले, ‘माओवादी आन्दोलनभित्रै मूल नेतृत्वमा पैदा भएको नवसंशोधनवादी विचलन र गद्दारीका कारण अहिले जनयुद्ध र क्रान्तिको प्रक्रियाले गम्भीर धक्का खान पुगेको छ’ भनेका छन् ।

दश वर्षे जनयुद्ध, झापा विद्रोह र विभिन्न जनआन्दोलमा जनताले बगाएको रगतको आहालमा टेकेर सरकारमा पुगेका नेताहरुले घरेलु प्रतिक्रियावादी सत्ताको नेतृत्व गर्दै साम्राज्यवाद र विस्तारवादको दलाली गरिरहेको आरोप पनि उनले लगाए ।

वैद्यले नेपाली नयाँ जनवादी क्रान्तिले धक्का खाए पनि क्रान्तिको प्रक्रिया नसकिएको भन्दै विभिन्न समूहमा छरिएका क्रान्तिकारी पार्टीहरुलाई एकजुट हुन पनि आह्वान गरेका छन् ।

२०५२ साल फागुन १ गतेदेखि प्रचण्डको नेतृत्वमा माओवादीले दश वर्षे सशस्त्र युद्ध सञ्चालन गरेको थियो । सरकार र माओवादीबाट गरी १७ हजार नेपाली नागरिक मारिएको युद्धलाई माओवादीले ‘जनयुद्ध’ भन्दै आएको छ ।

१२ बँुदे सहमति हुँदै २०६३ मंसिर ५ गते माओवादीले हतियार छाडेर शान्ति प्रक्रियामा आएको थियो । त्यसपछि माओवादी पार्टी विभिन्न टुक्रामा विभाजित छ । एएटा टुक्राको नेतृत्व वैद्यले गरेका छन् भने अर्को टुक्रामा लागेका नेत्रविक्रम चन्द सशस्त्र हिंसाको बाटोमै लागिरहेका छन् ।

प्रचण्ड नेतृत्वको माओवादीले भने नेकपा एमालेसँग पार्टी एकता गरेर नेकपा नामको पार्टी बनाएको छ ।