
काठमाडौं, माघ ६ । शुक्रबारदेखि मौसममा सुधार आउने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
पश्चिमी वायुको प्रभावले देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही केही हल्का वर्षा र हिमपात भइरेहको जल तथा मौसम विज्ञान विभागले जनाएको हो ।
उक्त प्रणालीको प्रभावले पहाडी भेगका थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागका वरिष्ठ मौसमविद् वरुणा पौडेलले बताउनुभयो । ‘सो मौसमी प्रणाली भोलिदेखि कमजोर हुँदै जाने भएकाले शुक्रबारबाट मौसममा सुधार हुनेछ’, ।
शुक्रबार देशभर आंशिकदेखि सामान्यतया बदली रही हरेक प्रदेशका केही स्थानमा हल्का वर्षा तथा देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ । विभागले आगामी २४ घण्टाको लागि चेतावनी तथा परामर्श जारी गर्दै देशको पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको साथै देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
साथै देशभर चिसो अझै बढ्ने क्रममा रहेकाले यसबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार बिहीबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ७.६ डिग्री र अधिकतम तापक्रम १८.४ र डिग्री सेल्सियस रहेको छ । त्यस्तै बिहीबार सबै भन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस १.४ डिग्री र सबै भन्दा धेरै दिपायलको अधिकतम तापक्रम २२.२डिग्री सेल्सियस रहेको छ ।
प्रतिक्रिया दिनुहोस्