११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


झापामा लक्ष्यभन्दा बढी राजश्व संकलन


0
Shares

भद्रपुर, फागुन १ । अन्तरिक राजश्व कार्यालय भद्रपुर झापाले चालू आर्थिक वर्षको सात महिनामा रु. एक अर्ब ८७ करोड राजश्व सङ्कलन गरेको छ ।

कार्यालयले चालू आव २०७६/७७ को माघ महिनासम्ममा रु. एक अर्ब ८६ करोड राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । कार्यालयले पुराना कर नबुझाएका करदाताबाट सो अवधिमा रु. ४४ करोड उठाउन सफल भएको आन्तरिक राजश्व कार्यालय भद्रपुरका प्रमुख कर अधिकृत युवराज श्रेष्ठले जानकारी दिए ।

चालू आवको असार मसान्तसम्ममा रु. तीन अर्ब ६६ करोड राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको कार्यालयले सात महिनाको अवधिमा आयकरतर्फ रु. ७७ करोड, मूल्य अभिवृद्धि करतर्फ रु. ८७ करोड र अन्तशुल्कतर्फबाट रु. २४ करोड राजश्व सङ्कलन गरेको उनको भनाइ थियो । झापा, इलाम, पाँचथर र ताप्लेजुङमा ८० हजार बढी व्यावसायिक करदाता छन् ।

समयमै मूल्य अभिवृद्धि र आम्दानी कर नबुझाएका निर्माण कम्पनी, उद्योगी व्यवसायीलाई पत्राचार गरेर कर बुझाउन अनुरोध गरिरहेको उनले बताए । “हामीले पटक–पटक पत्राचार गरेका छौँ”, उनले भने, “अब अटेर गरेमा पत्रपत्रिकामा सूचना जारी गरेर उनीहरुको बैंक खाता रोक्ने र घरजग्गा लिलामी गरी असुल्ने तयारीमा छौँ ।”

गत आव २०७५/७६ मा कार्यालयले रु. दुई अर्ब ६१ करोड ५६ लाख ५२ हजार राजश्व सङ्कलन गर्ने लक्ष्यमा लिए पनि रु. दुई अर्ब ६२ करोड २५ लाख २६ हजार राजश्व सङ्कलन गरेको थियो ।

कार्यालयले ई–हाजिरी सेवा शुरु गर्नुका साथै ‘आइपी’ क्यामेरा जडान गरी मोबाइलबाट र सिसीटिभीबाट अनुगमन गर्ने गरेको प्रमुख कर अधिकृत श्रेष्ठले बताए । सेवाग्राहीलाई प्रभावकारी र सरलीकरण सेवा प्रवाह गर्न कार्यालयमा सहयोग कक्ष राखिएको छ ।

कार्यालयले जिल्लाका विभिन्न स्थानबाट विभिन्न समयमा अवैधरूपमा भेटिएको एक हजार ७ सय लिटर मदिरा र ६० बोरा सुर्ती नष्ट गरेको छ । लामो समयदेखि बरामद गरिएका उक्त सामग्री कार्यालयको कोठामा भण्डारण गरिएको थियो । भद्रपुर नगरपालिकाको सहकार्यमा उक्त सामग्री नष्ट गरिएको हो । रासस