
काठमाडौं । नेपालमा दैनिक रेकर्ड तोड्दै गएको ओमिक्रोन संक्रमण आगामी केही साता झन उच्च रूपमा बढ्ने देखिएको छ ।
अस्पताल भर्ना हुने संक्रमितको संख्या नबढे पनि ओमिक्रोन निकै संक्रामक रूपमा फैलिँदा अस्पतालमा जनशक्तिको अभाव भएको छ ।
सबै अस्पतालमा नर्स, स्वास्थ्यकर्मी र चिकित्सक संक्रमित हुँदा उपचारमा समस्या हुन थालेको हो भने केही अस्पताले सेवा बन्द गर्न बाध्य भएका छन् ।
कोरोना संक्रमणको तेस्रो लहरसम्म पनि सरकारले स्वास्थ्यकर्मी र चिकित्सकको दरबन्दी थप नगर्दा जनशक्तिको प्रत्यक्ष अभाव देखिएको छ ।
पहिलो र दोस्रो लहरको संक्रमण नियन्त्रण बाहिर पुग्दा जनशक्तिको अभावमा उपचार प्रणाली नै प्रभावित बनेको थियो ।
त्यसबेला सबै प्रदेशले करारका चिकित्सकबाट तात्कालिन आवश्यकता पूरा गरेका थिए । तेस्रो लहर सम्म आइपुग्दा करारकै चिकित्सकको भरमा स्वास्थ्यक्षेत्र धानिएको छ ।
संक्रमण तीव्र गतिमा बढेको र चिकित्सक आफैँ संक्रमित हुने क्रम थपिँदा उपचार प्रणालीमै समस्या देखिन थाल्यो ।
ओमिक्रोन संक्रमणको गतिलाई सरकारले नजरअन्दाज गरी व्यवस्थापनमा चुक्दा मुलकभरकै सयौं चिकित्सक र स्वास्थ्यकर्मी धमाधम कार्यक्षेत्रमै संक्रमित छन् । त्यसको वैकल्पिक व्यवस्थाबारे कसैले सोचेको छैन ।
केही अस्पतालमा सेवा नै बन्द गर्नुपर्ने अवस्था आएको छ । जसले तेस्रो लहरको संक्रमणमा पुन जनशक्ति अभाव कै समस्या दोहोरिएको छ ।
सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन दोस्रो लहरमा धेरै व्यक्ति अस्पताल भर्ना भएर उपचार प्रणाली प्रभावित बनेको र तेस्रो लहरमा धेरै स्वास्थ्यकर्मी संक्रमित हुँदा जनशक्ति अभाव देखिएको बताउनुहुन्छ ।
काठमाडौका मुख्य ठूला वीर, ट्रमा, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका धेरै स्वास्थ्यकर्मी संक्रमित भएका छन् । स्वास्थ्य मन्त्रालयले हाल २० प्रतिशत बढी चिकित्सक र नर्स संक्रमित भएको जनाएको छ ।
स्वास्थ्य सचिव रोशन पोखरेल जनशक्तिको अभाव हुनसक्ने प्रक्षेपण गर्नुहुन्छ ।
सरकारीतर्फ ३५ हजार स्वास्थ्यकर्मीको दरबन्दी छ । तर दरबन्दीअनुसारको चिकित्सक र स्वास्थ्यकर्मी सरकारले राखेको छैन । बरु महामारीमा खट्न ६ महिने करारमा २ हजार बढी चिकित्सक भर्ना गर्यो ।
समयमा नै स्वास्थ्यकर्मी व्यवस्थापन नगर्दा महामारी नियन्त्रणमा पटक–पटक चुक्दै आएको सरकारले फेरि त्यही नियति दोहोर्याउनु आफैँमा लाजमर्दो विषय हो ।
प्रतिक्रिया दिनुहोस्