७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


त्रिवेणी साना जलविद्युत केन्द्र प्राधिकरणले फिर्ता लिने


598
Shares

काठमाडौं, माघ ८ । बाजुरा सदरमुकाम मार्तडीमा सञ्चालन भइरहेको त्रिवेणी साना जलविद्युत केन्द्र नेपाल विद्युत् प्राधिकरणले फिर्ता लिने भएको छ ।

प्राधिकरण र त्रिवेणी सहकारी संस्थाबीचको २० वर्षका लागि भएको सम्झौता खारेज गरेर आफ्नै स्वामित्वमा सञ्चालन गर्ने गरी सहमति भएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र बाजुराले जनाएको छ । सदरमुकाममा विद्युत् आपूर्ति नहुँदा पटकपटक सेवाग्राहीले आन्दोलन गर्ने, धर्ना गर्नेजस्ता कार्य हुँदै आएकाले उक्त विद्युत्मा राष्ट्रिय प्रसारण लाइन जडान गर्ने गरी तीन महिनाभित्र सम्झौता रद्द गर्ने सहमति भएको वितरण केन्द्रका प्रमुख ललितकुमार मण्डलले बताउनुभयो

प्राधिकरणले तीन महिनाभित्र त्रिवेणी बचत तथा ऋण सहकारी संस्थासँगको सम्झौता खारेज गरेर पुनः आफ्नै स्वामित्वमा लिने पत्र जिल्ला वितरण कार्यालयलाई पठाएको छ । साना जलविद्युत् केन्द्र निर्माण भएर सेवा सञ्चालन गर्दा ७ सय ४५ ग्राहकलाई सेवा दिने सर्तसहित मार्तडी साना जलविद्युत् केन्द्र सञ्चालनको जिम्मा त्रिवेणी सहकारीले लिएको थियो ।

विसं २०६६ मा सञ्चालनको स्वामित्व लिएको सहकारीसँग हाल दुई हजार १ सय बढी विद्युत् सेवा लिने ग्राहक रहेका छन् । दैनिक ८ सय किलोवाट क्षमताभन्दा बढीको विद्युत् खपत हुने भए पनि सहकारीले २ सय किलोवाट क्षमता मात्र वितरण गरिरहेको छ । त्यसका कारण दैनिक पाँचदेखि १० घण्टा विद्युत् अवरुद्ध हुने समस्याबाट सेवाग्राही हैरा बनेका छन् ।