
काठमाडौं, माघ ८ । विभागीय टोली नेपाल एपीएफ क्लब आहा रारा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा शनिकार भएको खेलमा बीवाईएससी मिनेसोटा युएसएलाई ३–१ गोलले हराउँदै एपीएफ सेमिफाइनलमा प्रवेश गरेको हो ।
एपीएफका लागि रवि थिङले दुई तथा आवाश लामिछानेले एक गोल गरेका थिए । यस्तै, बीवाईएससीका मिगल पेलाफक्सले एक गोल गरेका थिए ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको ४७औँ मिनेटमा बीवाइएससीका पेलाफक्सले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर ७० औं मिनेटमा आवाश लामिछानेले पेनाल्टीमार्फत गोल गर्दै एपीएफलाई १–१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि ८४औं मिनेट र इन्जुरी समयमा रवीले लगातार दुई गोल गर्दै एएफसीलाई ३–१ गोलको जित दिलाए । एपीएफले आयोजक सहारालाई हराएर क्वाटरफाइनलमा स्थान बनाएको थियो भने बिवाइएससीले सिधै क्वाटरफाइनल खेलेको हो ।
अब एपीएफले सेमिफाइनलमा संकटा क्लब र मछिन्द्र क्लबबीचको विजेतासँग खेल्नेछ । १० टोली सहभागी प्रतियोगिताको विजेता टोलीले १० लाख १ हजार र उपविजेता टोलीले ५ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।
प्रतिक्रिया दिनुहोस्