
एजेन्सी । युक्रेनबारे विवादास्पद टिप्पणी गरेसँगै जर्मनीका नौसेना प्रमुखले राजीनामा गरेका छन् ।
शुक्रबार भारतमा एउटा थिङ्क ट्याङ्कले आयोजना गरेको छलफलमा के–खिम श्योनबाखले युक्रेनमाथि रुसले आक्रमण गर्न चाहेको भन्ने कुरा बकवास रहेको बताएका थिए । उनले रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले मात्र सम्मान खोजेको पनि बताए । युक्रेनलाई अमेरिका र बेलायतसहितका अन्य केही राष्ट्रहरूले हातहतियार उपलब्ध गराएका छन् । तर जर्मनीले भने हतियार उपलब्ध गराउन युक्रेनले गरेको आग्रह अस्वीकार गरेको छ । पुटिनले पश्चिमा राष्ट्रहरूसमक्ष केही मागहरू अघि सारेका छन् जसमा रुसी सुरक्षा चासोहरू समेटिएको उनको भनाइ छ ।
उक्त भिडिओ पछि सामाजिक सञ्जालमा प्रसारण गरिएको थियो । भिडियोमा उनले पश्चिमा राष्ट्रहरूले पुटिनलाई समान रूपमा व्यवहार गर्न आवश्यक रहेको उल्लेख गरेका छन् । उनले माग गरेजस्तै सम्मान दिन सजिलो छ र सम्भवतः उनी त्यसका लागि योग्य पनि छन्– श्योनबाखले भनेका छन् । युक्रेनको विदेश मन्त्रालयले श्योनबाखको टिप्पणीलाई स्पष्ट रूपमा अस्वीकार्य रूपमा व्याख्या गरेको छ । श्योनबाखले थप क्षति हुन नदिन आफ्नो पदबाट ’’तत्काल लागु हुने गरी’’ राजीनामा गरेको बताएका छन् । युक्रेनको सीमा नजिकै एक लाख रुसी सेना तैनाथ गरिएसँगै युरोपमा नयाँ द्वन्द्व सुरु हुनसक्ने जोखिम रहेको नेटोका प्रमुखले चेतावनी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्