१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रोगका कारण सुन्तलाका बगाननै मासिएपछि …


351
Shares

इलाम । भारतको पश्चिम बंगालको राजधानी कलकत्ताको बजारमा समेत पुग्ने गरेको इलामकोे सुन्तला उत्पादनमा कमी आएको छ । रोगका कारण सुन्तलाका बगाननै मासिएपछि इलामको सोयाङ, इलाम नगरपालिकाका साथै रोङ गाँउपालिकाको सलकपूरबासीको मुख्य आम्दानीको श्रोत गुमेको छ ।

इलामको रोङ गाउँपालिका–६ को जिर्मलेस्थित सलकपूर सुन्तलाका लागि परिचित गाउँ हो । सलकपूरमा तराईको गर्मी छल्दै बगानबाटै स्वादिष्ट सुन्तला टिपेर खाने पर्यटकको पनि लर्को नै लाथ्यो । तर, अहिले सुन्तलाको पकेट क्षेत्र मानिएको सलकपूरमा फाट्ट फुट्ट बोटमा मात्रै सुन्तला पाइन्छ ।

रोगले बगान नै सखाप भएपछि इलाम नगरपालिका, माइजोगमाइको सोयाङ सहित रोङको सलकपूरमा अहिले सुन्तलाको उत्पादनमा कमी आएको छ । नेपालसँगै भारतको कलकत्तामा पनि इलामको सुन्तला प्रख्यात छ । तर, सेतो किरा लागेर बगाननै सखाप भएको किसानको भनाइ छ ।

चियासँगै इलामका धेरै किसानको आम्दानीको मुख्य श्रोत सुन्तला रहेको थियो । सुन्तलाको बगाननै मासिएपछि किसानले अहिले अलैँची, कफी र एबोकाडोको व्यवसायीक खेती गर्दै आएका छन् । सुन्तलाको बगान मासिएसँगै उत्पादनमा गिरावट आउँदा मूल्य पनि आकासिएको छ ।

अहिले किसानका घरमै पुगेर खरिद गर्दा सुन्तला प्रतिकिलोको सय रुपैयाँ पर्छ । किसानको मुख्य आम्दानीको श्रोत रहेको सुन्तलाको पुनः व्यवसायिक खेतीका लागि कृषि ज्ञान केन्द्रबाट अनुदान सहयोग गर्दै आएको कृषि ज्ञान केन्द्र इलामका प्रमुख टोन बदे्रवाको भनाइ छ ।

इलामको अधिकाशं स्थान पारिलो क्षेत्रमा पर्ने भएकाले यहाँको सुन्तला बढी गुलियो हुन्छ । आर्थिक वर्ष २०७७।७८ मा जम्मा तीन सय हेक्टर क्षेत्रफलमा सुन्तला खेती लगाइएको थियो ।