२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


धान उत्पादन घट्दा चालू आ.व.को ६ महिनामै ४२ अर्बको खाद्यान्न आयात

वैदेशिक व्यापार घाटा आठ खर्ब ८० अर्ब ४९ करोड

117
Shares

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा ४२ अर्ब रुपैयाँको खाद्यान्न आयात भएको छ ।

भन्सार विभागको तथ्यांक अनुसार सो अवधिमा ४२ अर्ब ६२ करोड रुपैयाँको खाद्यान्न आयात भएको हो ।

मुलुकमा यो वर्ष धान उत्पादन घट्दा ठूलो परिणाममा खाद्यान्न आयात भएको हो ।

४२ अर्बको खाद्यान्न आयात हुँदा २७ अर्बको चामल आयात भएको विभागको तथ्यांक छ । यस्तै, ६ महिनामा मुलुकमा २२ अर्ब ५१ करोड रुपैयाँको तरकारी र १२ अर्ब आठ करोड रुपैयाँको फलफूल आयात गरेको छ ।

त्यसैगरी ७८ अर्ब रुपैयाँको घिउ, तेल र पशुपक्षीजन्य वस्तु आयात भएको छ । पाँच अर्ब रुपैयाँको चिया, कफी, चार अर्ब ९५ करोड रुपैयाँको चिनी, १५ अर्ब रुपैयाँको खाद्यान्न उद्योगका लागि चाहिने कच्चा पदार्थ चाहिने कच्चा पदार्थ र झन्डै दुई अर्ब रुपैयाँको पेय पदार्थ आयात भएको विभागले जनाएको छ ।

यस्तै ४० अर्ब रुपैयाँको औषधी र कच्चा पदार्थ, १० अर्ब रुपैयाँको बिउबिजन, ३६ अर्ब रुपैयाँको प्लास्टिकलगायतका वस्तु आयात भएको छ ।

भारत, चीन, मलेसिया, फिलिपिन्स, ताइवान, कोरिया, इन्डोनेसियालगायतका देशबाट २६ अर्ब ९० करोड रुपैयाँ भन्दा धेरैको चामल आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । ६ महिनामा नेपालको वैदेशिक व्यापार घाटा आठ खर्ब ८० अर्ब ४९ करोड रुपैयाँ रहेको भन्सार विभागले जनाएको छ ।

६ महिनामा नेपालले नौ खर्ब ९९ अर्ब रुपैयाँको वस्तु आयात गरेको छ । यस्तै एक खर्ब १८ अर्ब ८५ करोड रुपैयाँको वस्तु निर्यात भएको छ ।