१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


यातायात कार्यालयमा प्रदेश मन्त्री दाहालद्वारा अनुगमन


117
Shares

काठमाडौं । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले यातायात कार्यालयमा बिचौलियाको प्रवेश रोक्न निर्देशन दिनुभएको छ ।

आज ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालयको अनुगमन गर्दै मन्त्री दाहालले कार्यालयभित्र बिचौलियाको प्रवेश रोक्नुपर्ने बताउनु भएको हो ।

उहाँले भन्नुभयो, ‘बिचौलियाहरुलाई रोक्नको लागि हामीले काार्यलयलाई पनि कडा निर्देशन गरेका छौं । पत्रकारहरुले पनि बेला बेलामा आएर बिचौलियाहरुको बारेमा एस्पोज गरिदिनुपर्छ । त्यो भयो भने सेवाग्राहीहरुले अनावश्यक पैसा खर्च नगरी काम गर्न सकिन्छ । त्यो हुँदा कतिपय डुब्लिकेशनलाई पनि रोक्न सक्छौं ।’

उहाँले यातायात सेवालाई चुस्त दुरुस्त ढंगबाट सञ्चालन गर्नका लागि सुधारका कामहरु अघि बढाउनु पर्ने भएकोले मन्त्रालयले अब यातायात क्षेत्रको सुधारका लागि व्यवहारिक काममा मात्रै नभइ कानूनि कामलाई पनि अघि बढाएर लैजाने बताउनु भयो ।

मन्त्री दाहालले यातायात कार्यालयमा अझै पनि केही स्थानमा दक्ष जनशक्तिको अभाव भएकोले मन्त्रालयले त्यसलाई परिपूर्ति गरी अगाडि बढ्ने आश्वासन दिनुभयो ।

उहाँले यातायात कार्यालयमा रहेको विभिन्न समयदेखिका ठूला ढड्डाहरुलाई अनलाइनमा राख्नको लागि समस्या भइरहेको भन्दै त्यसलाई क्रमशः समाधान गर्दै लैजाने बताउनुभयो ।

मन्त्री दाहालले भन्नुभयो, ‘सेवालाई कसरी चुस्त दुरुस्त गर्ने भन्ने बारेमा पनि केही न केही सुधार गर्नुपर्छ । अर्को भनेको हिजोको हाम्रो काम गर्ने सिस्टम ढड्डामा राख्ने सिस्टमले पनि हामीलाई कतिपय ठाउँमा असजिलो भएको छ । त्यसलाई पनि हल गर्नुपर्ने छ । हामीसँग अहिले पनि कतिपय अवस्थामा दक्ष जनशक्ति कर्मचारीहरुको अभाव पनि छ । त्यसलाई पनि हल गर्नुपर्ने देखिएको छ । अहिलेको अवस्था हाम्रो काम गर्ने शैलीहरु हिजोकै पुराना छन् । ढड्डा राख्ने पुरानै तरिकाहरु छन् । हामी अहिले सबै अनलाइन सिस्टमको विकास गर्ने भनेर अघि बढिरहेका छौं । ठूला ढड्डाहरुलाई सधैँ सुरक्षित गर्न सकिँदैन । त्यसलाई सफ्टवेयरमा कम्प्युटरमा कसरी व्यवस्थापन गर्ने भन्ने कुराहरु पनि मुख्य समस्याको रुपमा रहेको छ । त्यसबारे हामी मन्त्रालयमा छलफल गरेर चाँडै निर्णय गर्नेछौं ।’

मन्त्री दाहालले यातायात कार्यालयमा लाइसेन्स नवीकरणको समस्या बढिरहेकाले यसलाई पनि समाधान गर्नु पर्ने बताउनुभयो ।