१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


पुस ७ गते स्थगित भएको न्याय सेवा आयोगको बैठक आज फेरि बोलाइयो


52
Shares

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले न्याय सेवा आयोगको बैठक बोलाउनु भएको छ ।

न्यायालयमा चलिरहेको आन्दोलनले आफू भूमिकाविहीन बनेको अवस्थामा राणाले दोस्रो पटक आयोगको बैठक बोलाउनु भएको हो ।

गत कात्तिक ७ गते सर्वोच्च अदालतका न्यायाधीशहरुले प्रधानन्यायाधीश राणाको राजीनामाको मागसहित आन्दोलन सुरु गरेका थिए ।

आफ्नो बहिर्गमनको मागसहित निरन्तर आन्दोलन चलिरहेको समयमा उहाँले पहिलोपटक गत पुस ६ गते बैठक बोलाउनु भएको थियो ।

आन्दोलन चलिरहँदा राणाले अघिल्लो महिना जिल्ला न्यायाधीशको परीक्षाको नजिता प्रकाशनका लागि न्याय सेवा आयोगको बैठक बोलाउनु भएको हो । तर, पुस ७ गते सूचना निकालेर आयोगको बैठक स्थगित भएको जनाएको थियो ।

न्याय सेवा आयोगका सदस्य एवम् लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी उपत्यकाबाहिर रहेको भन्दै त्यतिबेलाको बैठक स्थगित गरिएको थियो । राणाले करिब एक महिनापछि पुनः आजका लागि बैठक बोलाउनु भएको हो ।

प्रधानन्यायाधीश अध्यक्ष रहने आयोगमा कानुनमन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश, लोकसेवा आयोगका अध्यक्ष र महान्यायाधिवक्ता सदस्य रहने प्रावधान छ । अध्यक्ष र अन्य २ जना सदस्य उपस्थित रहेमा गणपूरक संख्या मानिने र बहुमतले निर्णय गर्न सकिने व्यवस्था न्याय सेवा ऐन २०७३ ले गरेको छ ।