
काठमाडौं । मुग्लिङ–पोखरा सडक विस्तार योजना अन्तर्गत तनहुँ खण्डमा रुख कटान थालिएको छ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ खण्डमा सडकका दायाँबायाँ रहेका रुख कटानलाई तीव्र पारिएको हो । मुग्लिङ– पोखरा सडक चार लेन बनाउने योजना अन्तर्गत सडक क्षेत्रभित्र पर्ने रुख हटाउन थालिएको मुग्लिङ पोखरा सडक योजना पूर्वी खण्डका प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिनुभयो ।
पूर्वी खण्ड अन्तर्गत जामुनेदेखि आँबुखैरेनीसम्म झण्डै ५० प्रतिशत रुख काटिसकिएको छ । रुख कटान सकिएलगत्तै सडक बिस्तारलाई तिव्रता दिने उहाँको भनाई छ ।
जामुनेदेखि पोखरासम्मको खण्डमा ३ हजार १ सय ६३ रुख कटान गर्नुपर्नेमा हालसम्म १ हजार ८ सय रुख कटान गरिएको छ । रुख कटानपछि बिजुलीका पोल स्थानान्तरण र घर टहरा हटाउन सुरु गरिने बताइएको छ । तनहुँ खण्डमा ६ हजार सात सय ५० रुख हटाउनुपर्ने बताईएको छ ।
सडक आयोजनाले रुख काटेर वन कार्यालयलाई बुझाउने डिभिजन वन कार्यालयका सहायक वन अधिकृत काशीराज पण्डितले जानकारी दिनुभयो ।
एसियाली विकास बैंकको ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । चिनियाँ कम्पनी यनहुइ काइयुन हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले ७ अर्ब ४० करोड रुपैयाँमा पश्चिम खण्ड जामुने–पोखरा सडक निर्माणको जिम्मा पाएको हो ।
प्रतिक्रिया दिनुहोस्