१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सार्वजनिक सवारी साधनमा हट्यो जोर बिजोर

ट्याक्सी र निजी सवारीमा मात्र जोर बिजोर

884
Shares

काठमाडौं, माघ १४ । काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारीसाधनमा लगाइएको जोर बिजोर प्रणाली हटाइएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार आदेश जारी गर्दै भोलि शनिबारदेखि लागू हुनेगरी उक्त प्रणाली हटाउने निर्णय भएको जानकारी दिएको हो ।

नयाँ आदेशअनुसार बस, माइक्रो र टेम्पोमा जोर बिजोर प्रणाली हटेको छ । तर, ट्याक्सी र निजी सवारी (दुई पांग्रेसहित)मा भने जोरबिजोर प्रणाली यथावत रहने प्रशासनको आदेशमा उल्लेख छ ।

यसअघि आजै बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को बैठकले ट्याक्सी र निजीबाहेकका सार्वजनिक सवारीमा जोरबिजोर प्रणाली हटाउन सिफारिस गर्ने निर्णय गरेको थियो । जोरबिजोर प्रणालीले सार्वजनिक सवारीमा भिड बढेकोले झनै संक्रमणको जोखिम बढेको भन्दै जनस्तरबाट सरकारको चर्को आलोचना हुँदै आएको थियो ।

यस्तै, माघ मसान्तसम्म विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन बन्द गर्ने पनि प्रशासनको आदेशमा उल्लेख छ । यद्यपि प्राविधिक तथा भाषा परीक्षाहरु भने स्वास्थ्य मापदण्ड पालना गरी सञ्‍चालन गर्न पाउने उल्लेख छ । यसअघि सरकारले माघ १५ गतेसम्म विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन गर्न रोक लगाएको थियो ।

तर, कोरोनाको जोखिम यथावत् रहेको भन्दै यो अवधि लम्ब्याएर माघ मसान्तसम्म पुर्‍याइएको हो । यता, पार्टी प्यालेस, डान्स बार, रेष्टुरेन्ट, जिम र फिल्म हलमा यसअघिकै निर्णय यथावत् राखिएको छ ।