११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


बाबुबाटै छोरी बलात्कृत, आफन्तबाटै असुरक्षित


13
Shares

निरा गौतम (रासस)

रुपन्देही, फागुन ५ । गत पुसको १५ गते रुपन्देहीको देवदहमा बाबुले छोरीलाई बलात्कार गरे । श्रीमती दिदीको घर गएको मौका छोपी रातिको समयमा ३७ वर्षीय बाबुले १४ वर्षीया नाबालिकामाथि बलात्कार गरेका हुन् ।

पीडकलाई प्रहरीले पक्राउ गरी जबर्जस्तीकरणीको मुद्दा चलाएको छ । गत पुस ६ गते तिलोत्तमा नगरपालिकामा छिमेकी एक युवकले सात वर्षीय नाबालकमाथि बलात्कार गरे । घरमा कोही नभएको मौका छोपेर बालिकाका छिमेकी १८ वर्षीय बिमल क्षेत्रीले बालिकालाई फकाईफुल्याई शौचालयमा लगेर जबर्जस्ती करणी गरे ।

बालिकाको योनीबाट रगत बगेपछि परिवारले थाहा पाएर इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी गरे । उनलाई पनि अहिले जबर्जस्ती करणीको मुद्दा चलाइएको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ । तिलोत्तमामै गत मङ्सिर २३ गते बाबुले आठ वर्षीय छोरीलाई बलात्कार गरेको घटना सार्वजनिक भयो ।

बलात्कार गर्ने बाबु अहिले जिल्ला प्रहरी कार्यालयमा अपराधको सजाय भोगिरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक नवीन चुँदालीले जानकारी दिए ।

गत पुस १९ गते बुटवलको वडा नं ११ मा १४ वर्षीया बालिका बलात्कृत भइन् । स्थानीय २१ वर्षीय विवेक थापाले तीनाउ नदी किनारमा लगेर बालिकालाई बलात्कार गरे ।

थापाविरुद्ध परिवारले उजुरी दिएपछि उनलाई पनि प्रहरीले मुद्दा चलाएको छ । दश वर्षमुनिका बालबालिकालाई बलात्कार भए १० देखि १५ वर्षसम्मको कैद सजाय हुने कानूनी व्यवस्था छ । पछिल्लो समय बलात्कारका घटना बढेका प्रहरी तथ्याङ्कले देखाउँछ । तीमध्ये अधिकांश घटनाहरु आफन्तबाटै हुने गरेका छन् ।

दुईदेखि ७० वर्षसम्मका वृद्धमाथि बलात्कारका घटना भएका कारण समाजमा किशोरी र महिला असुरक्षित छन् भन्ने देखाउँछ । जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७६/७७ मा ३५ बलात्कारका मुद्दा दर्ता भएका छन् जसमध्ये १८ वर्षमुनिका बालिकामाथि बलात्कारका कारण १६ मुद्दा दर्ता छन् ।

गत आव ०७५/७६ मा ७० वटा बलात्कारका मुद्दा दर्ता भएका छन् । तीमध्ये  १९ मुद्दा १८ वर्षमुनिका बालिकामाथि बलात्कारका कारण दर्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले जानकारी दिए । “अपराधमा परिवार नातेदारका व्यक्ति नै संलग्न हुनु गम्भीर विषय हो, यस्तो आपराधिक मनोवृत्तिलाई निरुत्सहित गर्न परिवार र समुदाय सचेत हुनुपर्छ”, प्रवक्ता खत्रीले भने, बलात्कारका घटनाले गर्दा बालिका र किशोरी विद्यालयमा समेत असुरक्षित महसुस गर्छन् । बलात्कारका घटनाले अभिभावक र विद्यार्थीमा नकारात्मक छाप परेको छ ।

“केही कारणले विद्यालयमा ढिलाइ भयो भने अभिभावकहरु आत्तिएर विद्यालयमै आइपुग्नुहुन्छ”, लुम्बिनी सांस्कृतिक नगरपालिकाको अमारी प्राथमिक विद्यालयका शिक्षक लक्ष्मी मिश्रा भन्छीन् । बलात्कारका घटनाका कारण विश्वासको कमी हुँदा विद्यालय र समाजमा आपसी मित्रता, भाइचारको सम्बन्ध हराउँदै गएको उनको भनाइ छ । अधिवक्ता इन्दिरा आचार्यले घटनाका प्रकृति हेर्दा समाजमा छोरीहरु असुरक्षित छन् भन्ने देखिएको बताछन् ।

“आर्थिक रूपमा कमजोर मानिसमाथि यस्ता घटना बढी भएका छन्”, आचार्य भन्छन्, “आपराधिक मनोवृत्तिका मानिस समाजमा भएकाले अभिभावक बढी सचेत हुनुपर्छ ।” समाजमा हुने कतिपय घटना बाहिर आउँदैनन् ।

अर्थिक रूपमा सक्षमहरूले घटना भित्रभित्रै लुकाउने र मिल्ने गरेको पाइन्छ । “हाम्रो क्षेत्रमा पनि हिंसा र बलात्कारका घटना भएको सुनिन्छ तर सामाजिक प्रतिष्ठाका कारण भित्रभित्रै मिलाउँदा प्रहरीको पुग्न पाउँदैन”, आचार्य भनीन् । कतिपय पीडक सम्पन्न वर्गबाट पनि हुने गरेको र त्यस्ता व्यक्तिबाट भएका घटना आर्थिक प्रलोभन र राजनीतिक पहुँचका कारण बाहिर आउन नसकेको उनको भनाइ छ । बुबा, दाजु र छिमेकीबाट समेत छोरीहरु असुरक्षित भएपछि विश्वास कसलाई गर्ने रु आचार्य प्रश्न गछीन् ।