११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


कानून मन्त्रालयको जम्मेवारी तुम्बाहाङ्फेले लिइन्


0
Shares

काडमाडौं, फागुन ५ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्वाहाङ्फेलाई सोमबार पद तथा गोपनीयताको शपथ गराएकी छन् ।

राष्ट्रपति भवन शीतल निवासमा अपराह्न आयोजित समारोहमा राष्ट्रपतिबाट नवनियुक्त मन्त्री तुम्वाहाङ्फेले शपथ लिएकी हुन् । नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले उनलाई मन्त्री पदमा आजै नियुक्त गरेकी हुन् ।

यसअघि उक्त मन्त्रालयको कार्यभार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सम्हाल्दै आएका थिए । डा. तुम्वाहाङ्फे यसअघि उपसभामुख थिइन् । सभामुखको निर्वाचनका लागि मार्गप्रशस्त गर्ने क्रममा उनले गत माघ ६ गते उपसभामुखबाट राजीनामा दिएकी थिइन् ।

उनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित सांसद हुन् । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रियसभा अध्यक्ष उपस्थित थियो ।

मन्त्रिगण, नेपाल सरकारका मुख्य सचिव, संवैधानिक निकायका प्रमुख, महान्यायाधिवक्ता, प्रधानसेनापति र अन्य सुरक्षा निकायका प्रमुख तथा सरकारका उच्च अधिकृतको पनि सो अवसरमा उपस्थिति थियो ।

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा वि.स. २०७४ साल फागुन ३ गते गठन भएको मौजुदा मन्त्रिपरिषद्को यो आठौँ हेराफेरी एवं पुनःगठन हो । रासस