७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


भ्रष्टाचार नियन्त्रण गर्न सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री देउवा


65
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचार नियन्त्रण गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन बुझ्दै उहाँले भ्रष्ट्राचार नियन्त्रणका लागि केन्द्रले चालेका कदमप्रति सरकारको सदैव साथ रहने वचन दिनुभयो ।

प्रधानमन्त्री देउवाले भ्रष्ट्राचार नियन्त्रणका लागि केन्द्रले सरकारलाई दिएको सुझावको प्रभावकारी रुपमा कार्यान्वयन गर्ने विश्वास दिलाउनुभएको सतर्कता केन्द्रका सूचना अधिकारी हरिप्रसाद शर्माले जानकारी दिनुभयो ।

केन्द्रले उजुरी व्यवस्थापनतर्फ २०७७/७८ मा ५ सय २० वटा उजुरी प्राप्त भएको र आर्थिक वर्ष २०६६/७७ बाट जिम्मेवारी सरी आएका ३ सय २४ वटा उजुरी गरी जम्मा ८ सय ४४ वटा उजुरीमध्ये ५ सय ९४ वटा फछर्यौट गरिएको जनाएको छ ।

यसैगरी राष्ट्रिय सूचना आयोगले पनि आज प्रधानमन्त्री देउवासमक्ष आयोगको वार्षिक प्रतिवेदन पेश गरेको छ । प्रतिवेदन बुझ्दै प्रधानमन्त्री देउवाले आयोगको स्थापनाबाट सुशासन कायम गराउन मद्दत पुगेकाले यसको क्षमता विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय सुरक्षासँग सम्बन्धित गम्भीर प्रकृतिका सूचनामा संवेदनशील हुनुपर्नेमा उहाँको जोड थियो । आयोगमा यस अवधिमा सार्वजनिक निकायबाट सूचना प्राप्त नभएको भनी ७ सय ५३ वटा पुनरावेदन प्राप्त भएका थिए ।

प्राप्त पुनरावेदनमध्ये सबैभन्दा बढी ७३ प्रतिशत स्थानीय तहसँग सम्बन्धित थिए भने शिक्षा, स्वास्थ्य तथा खेलकूदसँग सम्बन्धित ७ प्रतिशत, आर्थिक क्षेत्रसँँग सम्बन्धित ४ प्रतिशत, कानुन, न्याय र प्रशासनसँग सम्बन्धित ४ प्रतिशत रहेका थिए ।

प्राप्त पुनरावेदन आयोगले ९८ दशलमब ७ प्रतिशत फछ्र्यौट गरेको प्रतिवेदनमा उल्लेख छ ।