
काठमाडौं, माघ १८ । नेपाली राष्ट्रिय फुटबल टिमले दोस्रो मैत्रीपूर्ण खेलमा अफ्रिकी राष्ट्र मरिससलाई हराएको छ ।
मंगलबार भएको खेलमा मरिससमाथि नेपालले १–० गोल अन्तरले हराएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाललाई जित दिलाउन सुजल श्रेष्ठले गरेको गोल नै निर्णायक बन्न पुग्यो ।
खेलमा नेपाल १० खेलाडीमा र मरिसस पनि ९ खेलाडीमा सीमित बनेको थियो । खेलको दशौँ मिनेटमा सुजलले आकर्षक गोल गरेका थिए । सुजलको यो नेपालका लागि तेस्रो गोल हो । यता, मरिसस पेनाल्टीमा चुक्दा नेपालसँग लगातार हार ब्यहोन बाध्य बन्यो ।
खेलको १३ औं मिनेटमा मरिससका कप्तान एन्डी सोफीले गरेको पेनाल्टी सुटआउट नेपालका कप्तान तथा गोलकिपर किरण चेम्जोङले बचाएका थिए ।
त्यस बाहेक दुबै टोलीले पाएको अन्य अवसरमा गोल हुन सकेन । जितसँगै नेपालले मरिससविरुद्ध लगातार दोस्रो जित निकाल्न सफल भएको छ । शनिबार भएको पहिलो मैत्रीपूर्ण खेलमा पनि नेपालले मरिससलाई १–० गोल अन्तरले नै हराएको थियो ।
प्रतिक्रिया दिनुहोस्