
काठमाडौं । तामाङ समुदायले आज सोनाम ल्होछार अर्थात नयाँ वर्ष मनाउँदै छन् ।
तिब्बती परम्परा अनुसार माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले यो पर्व मनाउने गर्दछन् । जस अनुसार आजदेखि २८५८ औँ वर्ष सुरु हुन्छ भने गाई वर्ष पूरा भई बाघ वर्ष सुरु हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ ।
तामाङ समुदायको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व मनाउने गरिन्छ । सरकार पनि आज सोनाम ल्होछारको अवसरमा सार्वननिक बिदा दिएको छ ।
कोरोना संक्रमणका कारण औपचारिक कार्यक्रमहरु भने राखिएका छैनन् । स्वयम्भू क्षेत्रका चैत्यहरुमा सीमित ब्यक्तिहरुको सहभागितामा पूजा पाठका कार्यक्रम गर्ने जनाइएको छ ।
यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले सोनाम ल्होछारको उपलक्ष्यमा शुभकामना सन्देश दिंदै सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ । मौलिक चाड पर्व र संस्कृतिको जगेर्नाले आपसी सद्भाव बढाउने मात्रै नभई हाम्रो मौलिक सभ्यताको विकासमा पनि सघाउने राष्ट्रपति भण्डारीको भनाइ छ ।
यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले पनि शुभकामना सन्देश दिंदै कोरोना संक्रमणलाई ख्याल गर्दै पर्व मनाउन आग्रह गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्