१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सोनाम ल्होछारको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत शीर्षनेताहरुले दिए शुभकामना


117
Shares

काठमाडौं । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र सभामुख लगायत शीर्षनेताहरुले पनि सोनाम ल्होछारको अवसरमा शुभकामना दिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सोनाम ल्होछारबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ तुल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

यस्तै, उपपराष्ट्रपति नन्दबहादुर पुनले भाषा, संस्कार र संस्कृतिमा तामाङ समुदाय समृद्ध रहेको बताउनुभएको छ ।

उपराष्ट्रपति पुनले तामाङ समुदायको मौलिक भाषा, लिपि, संस्कृति, रीतिरिवाज, वेशभूषासहितको छुट्टै पहिचान रहेको स्मरणसमेत गर्नुभएको छ । सोनाम ल्होछारले सम्पूर्ण नेपालीका बीच आपसी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायम गर्ने विश्वास व्यक्त गरेका छन् ।

यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मापदण्डको पालना गर्दै सोनाम ल्होछार पर्व मनाउन आह्वान गर्नुभएको छ । पर्वले पारस्परिक सद्भाव र सहिष्णुको भावनालाई अझ प्रगाढ र सुदृढ बनाउन प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि उहाँले गर्नुभएको छ ।

सदैव एकले अर्काको धर्म, भाषा, संस्कृति र परम्पराको सम्मान र आदर गर्ने हाम्रो आफ्नो विशिष्ट पहिचान रहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले यी पर्वले नेपाली समाजमा सद्भावना बढाउँदै आएको बताउनुभएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले सामुदायिक एकत्व, आपसी हित, भ्रातृत्व र सामाजिक एवं सांस्कृतिक ऐक्यबद्धता बढाउन नेपालका चाड पर्वले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभएको छ ।

उहाँले यस पर्वले शान्ति, मित्रता, सद्भाव र राष्ट्रिय एकता मजबुत बनाउन प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।

यसैगरी, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले सबै जाति, भाषा, धर्म क्षेत्रका हामी नेपालीहरु एकबद्धता भई विकास र समृद्धिको बाटोमा अघि बढ्नु जरुरी भएको बताउनुभएको छ ।

उहाँले बहुजातिय, बहुभाषिक, बहुधार्मिक तथा बहुसाँस्कृतिक बिशेषताले भरिएको नेपाली समाजमा यस पर्वले सामाजिक सद्भाव, एकता र भातृत्वको अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो ।

नेकपा एमालेका अध्यक्ष केपी ओली ओलीले मौलिक पुँजीका रूपमा रहेको नेपालको बहुसांस्कृतिक विशेषतालाई समृद्ध देश निर्माणमा सदुपयोग गर्नुपर्ने बताउनु भएको छ । उहाँले मुलुकका विभिन्न जातजातिका संस्कृतिमा आधारित पर्वहरू हाम्रो राष्ट्रिय एकता, पारस्परिक सामाजिक सद्भाव र सहिष्णुताका मौलिक आधार भएको बताउनु भएको हो ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परम्परागत र सांस्कृतिक महत्वका साथ तामाङ समुदायले मनाउने यस पर्वले सबै नेपालीमा सुख, शान्ति र समृद्धि पथमा लम्किरहन प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गर्नु भएको छ ।

प्रचण्ड’ले संविधानले सुनिश्चित गरेको समावेशीता र समानुपातिक अवधारणालाई मजबुत गरी समाजवादी लक्ष्य हासिल गर्न र राष्ट्रिय भावनाको विकास गर्न सचेततापूर्वक खबरदारी आवश्यक रहेको बताउनु भएको हो ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले चन्द्र पात्रोअनुसार माघ शुक्ल प्रतिपदाको दिन मनाइने यस पर्वको छुट्टै साँस्कृतिक महत्व रहेको बताउनु भएको छ ।

‘बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त हाम्रो देशमा रहेका विभिन्न समुदायका रीति, परम्परा र संस्कृति हाम्रा मौलिक पहिचान र बहुमूल्य सम्पत्ति हुन्,’ उहाँले भन्नुभयो, ‘सबै जातजाति तथा समुदायको भाषा, संस्कृति तथा पहिचानको संरक्षण गर्नु राज्यको कर्तव्य हो । यस्ता पर्वहरूले हाम्रा मौलिक संस्कृति प्रवर्द्धन गर्न, सामाजिक सद्‍भाव अभिवृद्धि गर्न र राष्ट्रिय एकता सुदृढ गर्न महत्वपुर्ण योगदान गरेका छन् ।’