
गृष्मा राजभण्डारी/कोमल शेचरन
काठमाडौं । माघको कठ्याङग्रिदो जाडोमा खुल्ला आकाशलाई छानो बनाउन बाध्य सडक बालबालिका मुक्त गर्ने अभियान फेरि सुरु भएको छ ।
लागूपदार्थ र मदिरा सेवनमा बालबालिकाको उद्धार आफैँमा चुनौतीपूर्ण बनेको भुक्तभोगीहरू बताउँछन् । उद्धार गरिए पनि फेरि सडकमै आउने लतका कारण उद्धारकर्ताहरू नै हैरान बनेका छन् ।
सडकबाट बालबालिका उद्धार गर्ने काम फलामको चिउरा चपाउनुसरह छ । प्रहरीदेखि उद्धारकर्ता नै यस्ता बालबालिकाको आक्रमणका सिकार हुने गरेका छन् । कतिपय हतियारको आत्मघाती प्रयोग गर्छन् त कति उद्धारकमाथि नै जाइलाग्छन् ।
कोरोना संक्रमणका कारण स्थगित बाल उद्धार कार्यक्रम बालबालिका खोजतलास समन्वय केन्द्र र राष्ट्रिय बालअधिकार परिषदको समन्वयमा फेरि सुरु गरिएको हो । सडक बालबालिकाको अन्त्यका लागि आफूहरू मध्यरातमा उद्धारमा खटिएको केन्द्रका कार्यकारी अधिकृत सन्तोष अधिकारी बताउनुहुन्छ ।
जोखिमपूर्ण यसप्रकारको उद्धारमा उद्धारटोलीलाई स्थिति सम्हाल्न निकै सकस छ । यद्यपि चुनौतीका बीच सडक बालबालिकाको भविष्यका लागि अर्थात सडकमै भोकै रात बिताउन नपरोस् भनि केन्द्रले सुधारगृहका सदस्यहरूको सहयोगमा उद्धार गर्ने गरेका छन् ।
राजधानीको ठमेल, नयाँ बसपार्क, बसन्तपुर, कमलादी, पशुपति र रत्नपार्क लगायतका क्षेत्रमा रहने गरेका अधिकांश बालबालिका उद्धारका क्रममा अधिकांश बालबालिका नशामा रहेका देखिन्थे । उद्धार गरिएका बालबालिकालाई सामाजिक संस्थामा लगिने कार्यकारी अधिकृत अधिकारीको भनाइ छ ।
सडक पेटी, सडकका कुना काप्चा, बेबारिसे घर टहरा अनि मन्दिर परिसर नै उनीहरूको आश्रयस्थल हो । जसका लागि सरकारले प्रति बालबालिकाको हकमा केही रकम उपलब्ध गराउँछ ।
बालअधिकारका लागि काम गर्ने सरकारी र गैरसरकारी संस्थाहरूले समन्वय गरी यो कामलाई थप प्रभावकारी बनाउन जरुरी छ । त्यसो त अघिल्लो सरकारले उपत्यकाका सडकलाई बेवारिसे मानवमुक्त बनाउन थालेको अभियान निरन्तरता दिन अपरिहार्य छ ।
प्रतिक्रिया दिनुहोस्