
कैलाली, माघ १९ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा बुधबार सुदूर पश्चिमको मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन भएको छ ।
प्रदर्शनको क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाइएको थियो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भातृ संगठन अनेरास्ववियू र राष्ट्रिय युवा संघले विरोध प्रदर्शन गरेका हुन ।
प्रदर्शनका क्रममा एमाले कार्यकर्ता र प्रहरीबिच केही बेर हात हालाहालको भएको थियो । प्रहरीले लाठी चार्ज गर्दै प्रदर्शनमा उत्रिएका कार्यकर्तालाई तितरबितर पारेको थियो ।
प्रदर्शनकारीले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन र राँके जुलुस निकाल्न खोज्दा प्रहरीले अवरोध गरेको थियो । सरकारले इन्धनमा निरन्तर मूल्यवृद्धि गरेपछि प्रदर्शनमा उत्रिएको अनेरास्ववियू कैलालीका जिल्ला अध्यक्ष किशोर शाहल बताउनुभयो ।
शान्तिपूर्ण प्रदर्शन गर्न खोज्दा प्रहरीले बल प्रयोग गरेको आरोप प्रदर्शनकारीहरुको छ । तर प्रहरीले भने प्रदर्शनमा संलग्नलाई तितरबितर पार्न सामान्य धरपकड मात्रै गरेको बताएको छ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने उनीहरुले जनाएका छन ।
प्रतिक्रिया दिनुहोस्