
काठमाडौं, माघ १९ । नेकपा एमालेले स्थानीय तहको निर्वाचन अविलम्ब संविधान बमोजिम सम्पन्न गर्न सरकारलाई दवाब दिने निर्णय गरेको छ ।
भक्तपुरमा बुधबार बसेको सचिवालयको बैठकले स्थानीय तहको निर्वाचन गराउन केन्द्र सहित सातै प्रदेशमा दवाबमूलक प्रशिक्षणमुलक कार्यक्रम गर्ने निर्णय गरेको हो ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले सिफारिस गरेको मितिमा स्थानीय निर्वाचन गर्नुपर्ने बताउनुभयो । निर्वाचन सरकारको स्वेच्छाको विषय हुन नसक्ने भएकाले उक्त मितिमा चुनाव गर्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ थियो । ओलीले संविधानको सही कार्यान्वयन गर्ने हो भने फागुनभित्र निर्वाचन गर्नु पर्ने भनेर सरकारलाई पटक-पटक ध्यानाकर्षण गराए पनि सत्ता स्वार्थमा केन्द्रीत भएको आरोप लगाउनुभयो । उहाँले २४ लाख खोप हराउनु सानो कुरा नभएको भन्दै कठिन ढंगले प्राप्त गरेको उक्त खोप हरायो भन्नु हाँस्यास्पद र गम्भिर रहेको टिप्पणी गर्नुभयो ।
यसैगरि बैठकले हालै सम्पन्न राष्ट्रिय सभाको निर्वाचनमा प्रदेश एक र सुदुरपश्चिम प्रदेश मा भएको पार्टी अनुशासन हिनता र अन्तर्घात गर्नेलाई छानबिन गरि कारबाही गर्न सम्बन्धित प्रदेश कमिटिलाई निर्देशन दिइएको छ । बैठकले पार्टीको जनसंगठनको महाधिवेशनलाई निरन्तरता दिने निर्णय पनि गरेको छ ।
पार्टीको नियमावली पारित गर्दै बैठकले फागुन र चैत्र महिनाभित्रै नयाँ सदस्य वितरण तथा नविकरण पनि गर्ने निर्णय गरेको छ । रौटहट र पर्साको जिल्ला अधिवेशनमा देखिएको समस्या समाधानका लागि केन्द्रीय संगठन विभागलाई जिम्मेवारी दिइएको छ ।
प्रतिक्रिया दिनुहोस्