
काठमाडौं । गए रातिदेखि नेपालमा पश्चिमी न्यूनचापीय वायु प्रणाली सक्रिय बनेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिम नेपालबाट प्रवेश गरेको उक्त प्रणालीको प्रभावले केही दिन मौसममा आंशिकदेखि पूर्ण बदली हुने छ ।
महाशाखाका अनुसार बिहीबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा बागमती, मधेश प्रदेश र प्रदेश नं १ मा आंशिकदेखि सामान्य बदली रहने छ । शुक्रबार देशैभरी सामान्यदेखि पूर्ण बदली रहने र शनिबार देशभरि आंशिकदेखि सामान्य बदली रहने छ ।
यो मौसमी प्रणालीका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने महाशाखाले बताएको छ ।
आज पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपात र पहाड र तराई केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । शुक्रबार भने देशका पहाडी तथा तराईका धेरै स्थानहरुमा मेघ गर्जन चट्याङ÷असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुको साथै गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आइतबारदेखि यो मौसम प्रणाली कमजोर हुँदै मौसममा क्रमिक सुधार आउने महाशाखाको प्रक्षेपण छ ।
प्रतिक्रिया दिनुहोस्