१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


अनेरास्ववियूद्वारा स्थानीय तहको निर्वाचन गर्न माग


91
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को विद्यार्थी संगठन अनेरास्ववियूले समयमा नै स्थानीय तहको निर्वाचन गर्न माग राख्दै सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

निर्वाचनको मिति घोषणा गर्न माग राख्दै दबाबमुलक कार्यक्रम गरिरहेको अनेरास्ववियूले बिहीबार प्रधानमन्त्रीनिवास बालुवाटार पुगेर ध्यानाकर्षण पत्र बुझाएको हो ।

अनेरास्ववियूका अध्यक्ष एवं नेकपा एमाले केन्द्रीय सदस्य सुनिता बरालको नेतृत्वमा गएको टोलीले ध्यानाकर्षण पत्र बुझाएको हो । निर्वाचन आयोगबाट मार्चपाससहित बालुवाटार पुगेर ध्यानाकर्षण पत्र बुझाइएको अनेरास्ववियूले जनाएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारका उपसचिव जनकराज भट्टमार्फत् प्रधानमन्त्रीलाई पत्र बुझाइएको हो । निर्वाचन आयोगले केही दिनअघि निर्वाचनको मिति घोषणा गर्न गरेको आग्रहसहितको पत्र राखेर ध्यानाकर्षण पत्र बुझाइएको बरालले जानकारी दिनुभयो ।

निर्वाचनको मिति घोषणा नगरेमा विधिको शासन र संवैधानिक सर्वोच्चता स्थापित गराउन अनेरास्ववियू कडाभन्दा कडा आन्दोलन गर्न बाध्य हुने चेतावनीसमेत दिइएको छ ।