१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


सडक बालबालिका र दुर्व्यसनीको अखडा बन्दै राजा वीरेन्द्रको कमलादीस्थित पूर्णिमा निवास

फिल्मी शैलीमा उर्दी जारी गर्ने मन्त्रीज्यूको ध्यान कहिले जाला ?

3.471k
Shares

कोमल शेरचन/गृष्मा राजभण्डारी
काठमाडौं । तत्कालीन राजा वीरेन्द्रको हकभोगमा रहेको कमलादीस्थिति २ रोपनी ४ आना जग्गामा बनेको पूर्णिमा निवास राजसंस्थाको अन्त्यसँगै सरकारी स्वामित्वमा गयो ।

सरकारको स्वामित्वमा आएको दुई दशक हुन लाग्दा पनि पूर्णिमा निवासको संरक्षढणमा सरकारले चासो दिएको छैन । मर्मतका काम नगर्दा निवास दिनानुदिन जीर्ण बन्दै मात्र गएको छैन, सडक बालबालिका र लागू औषध दुर्व्यसनीहरूको अखडा बन्न पुगेको छ ।

पूर्णिमा निवासमा छोटो समयका लागि पारिवारिक सदस्य भेट्न राजा वीरेन्द्र बारम्बार आउनुहुन्थ्यो । अहिले त निवासभित्र प्रवेश गर्नासाथ जताततै फोहोर अनि दुर्गन्धको बाहुल्य देखिन्छ । एक समय खानेपानी संस्थानले उपयोग गरेको घर अहिले बेवारिसे अवस्थामा छ ।

सरकारले भाडा लगाउन पटक–पटक टेण्डर आव्हान गरे पनि नियमअनुसार टेण्डर नपरेपछि निवास धर्मशालाजस्तो बनेको हो । बोलकबोलको न्यूनतम मापदण्ड पूरा नभएपछि ट्रष्टले प्रक्रिया नै हाललाई स्थगित गरेको ट्रस्टका सूचना अधिकारी रेवतीरमण शर्मा बताउनुहुन्छ ।

राजपरिवारको हकभोगका व्यावसायिक आयश्रोत भएका श्रीसम्पतिमा राजनीतिक दलको आँखा लगाउने तर संरक्षणमा ध्यान नदिने गर्दा कमलादीको व्यावसायिक थलोमा रहेको सरकारी निवास बेहाल हुनु आफैँमा दुःखद विषय हो । सम्पदाको रूपमा रहेको पूर्णिमा निवास दुव्र्यसनीको अखडा बनेको स्वयं ट्रष्ट पदाधिकारीलाई पनि निको लागेको छैन ।

पूर्णिमा निवासमा बसोबास गर्ने सडक बालबालिका कुन हैसियतमा यहाँ बस्छन ? भन्ने प्रश्नको उत्तर कसैसँग छैन । सबैतिर फिल्मी शैलीमा उर्दी जारी गर्दै हिँड्नुभएका पर्यटनमन्त्री प्रेमबहादुर आलेले यता पनि नजर पुर्‍याउने कि ?