१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


लद्दाखमा भएको झडपबारे प्रतिवेदन सार्वजनिक, चीनले वास्तविकता लुकाएको ठहर


26.338k
Shares

एजेन्सी । सन् २०२० मा भारत र चीनका सेनाबीच लद्दाखको गलवान उपत्यकामा भएको हिंसक झडपको बारेको एक प्रतिवेदन सार्वजनिक भएको छ ।

समाचार एजेन्सी पीटीआई र एएनआईका अनुसार अस्ट्रेलियाको अखबार ‘द कलेक्शन’ ले आफ्नो प्रतिवेदनमा गलवान झडपमा चीनले आफ्नो क्षति कम भएको बताएको दाबी गरेको छ ।

चीनको तर्फबाट चार सैनिकको ज्यान गएको बताइएको थियो तर योभन्दा नौ गुणा धेरै कम्तीमा ३८ चिनियाँ सैनिकको ज्यान गएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यो प्रतिवेदनमा शोधकर्ता र चीनका ब्लगर्सलाई उद्धृत गर्दै सूचना दिइएको जनाइएको छ । सुरक्षाका कारण उनीहरूको नाम गोप्य राखेको बीबीसी हिन्दीले जनाएको छ ।

गत १५ जुनमा लद्दाखको गलवान उपत्यकामा चिनियाँ सेनासँगको झडपमा भारतका २० सैनिकको मृत्यु भएको थियो ।

चिनियाँ सेनातर्फ के–कति क्षति भएको थियो भन्नेबारेमा आधिकारिक विवरण आएको थिएन । त्यो घटनालाई भारत–चीन सीमामा पछिल्लो चार दशकमा भएको सबैभन्दा ठूलो झडप बताइएको थियो । त्यसयता अहिलेसम्म यी दुई देशबीच १४ चरणको सैन्य वार्ता भइसकेको छ तर अहिलेसम्म निष्कर्ष निस्किएको छैन ।