६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


जग्गा व्यवसायीको हत्या आरोपमा तीन जना पक्राउ


572
Shares

काठमाडौं, माघ २१ । मोरङ प्रहरीले जग्गा व्यवसायीको हत्या आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सिराहा नगरपालिका-२१ का अनिलकुमार मण्डल, जहदा गाउँपालिका-४ का अमित साह भनिने दीनानाथ सोनार र धनपालथान गाउँपालिका-७ का नासिर आलम छन् ।

हत्या जग्गा किनबेच गर्दा आउने कमिसनका कारण भएको उनीहरुले प्रारम्भिक बयान दिएका छन् । प्रहरीका अनुसार चारजना जग्गा व्यवसायीको समूहले झापामा ५० करोडको जग्गा बैना गराएको थियो ।

५० करोडको जग्गा बैना गराएवापत ३ प्रतिशतले हुन आउने डेढ करोड रुपैयाँ कमिसन आउने पक्कापक्की भएको थियो । तर कमिसनका विषयमा मोहन लिम्बुले धेरै भाग खोजेपछि कमिसन एकलौटी पार्ने उद्देश्यका साथ मण्डलले पहिले लिम्बु र पछि अन्य दुई जनाको हत्या गराएका थिए ।

प्रहरीका अनुसार जग्गाको कमिसनको विषयमा कुरा नमिलेपछि मण्डलको समूहले मंसिर २८ गते लिम्बुलाई ललितपुरको धापाखेलमा बोलाएर हत्या गरेका थिए । उक्त हत्याकाण्डको पोल खुल्ने डरले पछि मण्डलको समूहले राजेन्द्र कुमार श्रेष्ठलाई पुषको ५ गते र शम्भु चौधरीलाई पुषको ७ गते मोरङमा हत्या गरेका थिए ।

त्यसपछि शव वेपत्ता बनाउन लिम्बुको शव धापाखेलकै एक घरको कम्पाउन्ड र श्रेष्ठ र चौधरीको शव मोरङको धनपालथान गाउँपालिका ७ कमलपुरमा रहेको उखुबारीमा खाल्डो खनेर गाडिएको थियो ।