
काठमाडौं, माघ २१ । मधेस प्रदेशमा शुक्रबार बिहानैदेखि तीव्र गतिमा चलिरहेको हावाहुरीका कारण रूख ढल्दा च्यापिएर तीन जनाको मृत्यु भएको छ ।
धनुषाको सबैलामा २ जना र रौतहटमा १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार हावाहुरीले रुख ढाल्दा त्यसमा च्यापिएर मृत्यु हुनेहरूमध्ये धनुषा सबैलाका ८ वर्षीया प्रतिमाकुमारी सदा र १२ वर्षीय अरविन्द सदा रहेका छन् ।
उनीहरु सवैला फकिरचन्द्र माध्यमिक विद्यालयका विद्यार्थी हुन् । विद्यालयमा रहेकै बेला त्यहाँको रुख ढल्दा दुवै विद्यार्थीको घटनास्थलमै मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ । यस्तै रौतहटमा हावाहुरीले रुख ढलेर घरमाथि खस्दा घर भत्किएपछि ४५ वर्षीया महिलाको मृत्यु भएको हो ।
यसैबीच तीव्र हावाहुरीका कारण मधेसको प्रदेश सभाको वार्षिकोत्सव समारोहसमेत स्थगित भएको छ । हावाहुरीले त्रिपाल र मञ्चमासमेत क्षति पुर्याएको थियो । वार्षिकोत्सव समारोहका लागि जनकपुरस्थित प्रदेश सभा परिसरमा तयार पारिएको पन्डाल र टेन्ट उडाएपछि कार्यक्रम अन्तिम समयमा स्थगित गरिएको हो ।
मधेस प्रदेशमा बिहीबार रातिदेखि वर्षासँगै तीव्र गतिमा हावाहुरी चल्दैछ ।
प्रतिक्रिया दिनुहोस्