९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


चीनले तीन पत्रकारलाई दियो देश छाड्ने आदेश, परिचय पत्र पनि रद्द


0
Shares

एजेन्सी, फागुन ७ । चीनले द वालस्ट्रिट जर्नलका तीन पत्रकारको परिचय पत्र रद्द गरिदिएको छ । चीन विरोधी सामग्री प्रकाशित गरेको अभियोगमा उनीहरुको परिचय पत्र नै रद्द गरिदिएको हो ।

बुधबार दैनिक पत्रकार सम्मेलनको क्रममा चीनको विदेश मन्त्रालयका प्रवक्ताले चीनमा कार्यरत द वालस्ट्रिट जर्नलका पत्रकारको परिचयपत्र रद्द गरेको जानकारी दिएका हुन् ।

जर्नलको बेइजिङ डेपुटी ब्यूरो चिफ जोश चिन (अमेरिकी नागरिक) तथा पत्रकारहरु चाओ डेङ्ग (अमेरिकी नागरिक) र फिलिप वेन (अस्ट्रेलियन नागरिक) को परिचय पत्र रद्द गरिएको हो ।

तीनै जनालाई देश छाड्न भनिएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेंग सुयाङले, सम्पादकहरूले जातीय भेदभावपूर्ण शीर्षक राखेर चिनियाँ नागरिक र अन्तर्राष्ट्रिय समुदायमा घृणा र आक्रोश पैदा गरेको आरोप पनि लगाए ।

लेख छापिएपछि उक्त पत्रिकाले सार्वजनिक रूपमा माफी पनि नमागेको भन्दै उनले बेइजिङ ब्युरोमा काम गर्ने पत्रकारको प्रेस पास फिर्ता लिने निर्णय भएको बताए । तीनै जना पत्रकारलाई पाँच दिनभित्र चीन छोड्न समय तोकिएको छ ।

पत्रकारहरुको परिचयपत्र रद्द गनुपर्ने कारण भने वालस्ट्रिट जर्नलको विचार पृष्ठमा प्रकाशित भएको सामग्रीको हेडलाइनलाई भनिएको छ ।

वाल्टर रुसेल मेडले लेखेको ‘चाइना इज द रियल सिक म्यान अफ एशिया’ शिर्षकको फेब्रुअरी ३ मा वालस्ट्रिट जर्नलको विचार पृष्ठमा छापिएको लेखलाई कारण मानिएको छ ।

चीनको यो कदम स्वतन्त्र पत्रकारितामाथिको गम्भीर आक्रमण हो भन्दै अन्तर्राष्ट्रिय मिडियाहरुले आलोचना गरेका छन् ।