
काठमाडौं, माघ २१ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीयता कार्यान्वयन गर्ने क्रममा स्थानीय, प्रदेश र केन्द्रलाई समन्वय गर्न राष्ट्रियसभाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार संसद समिति प्रणाली: राष्ट्रियसभा विशेष’ पुस्तकको विमोचन गर्दै उहाँले संविधान कार्यान्वयनमा राष्ट्रियसभाले परिपक्वता देखाउनुका साथै आफ्नो महत्वलाई स्थापित गरेको बताउनुभयो । राष्ट्रपति भण्डारीले संसद् सचिवालले पुस्तक प्रकाशन गरेर संसदीय गतिविधिहरुको अभिलेखीकरणमा योगदान दिएको र यस्ता प्रकाशनहरुलाई निरन्तरता दिनुपर्ने खाँचो औंल्याउनुभयो ।
कार्यक्रममा राष्ट्रपतिसमक्ष राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विमोचित पुस्तक पुस्तक हस्तान्तरण गर्नुभएको थियो । राष्ट्रियसभाका सचिव तथा पुस्तकका सम्पादक राजेन्द्र फुयाँलले पुस्तक संसद्का समिति प्रणालीको अवधारणा मात्र नभई हाम्रा आफ्नै अभ्यासको पनि सिंहावलोकनको प्रयास पनि भएकाले यसमा संसदीय समितिहरुले स्थापित गरेका अभ्यास, चुनौती र आगामी बाटो तय गर्नका लागि उपयोगी रहेको उल्लेख गर्नुभयो ।
संघीय संसद् सचिवालयले प्रकाशन गरेको १ सय ७६ पृष्ठको पुस्तकमा संसदीय अभ्यासमा संलग्न तथा विषयगत अध्ययन गरेका १० व्यक्तित्वका लेखहरु समावेश छन् । पुस्तकमा समिति प्रणालीको विकास र अन्तरराष्ट्रिय अभ्यासको नमूनाका रुपमा अष्टे«लिया, अमेरिका र भारतको संसदीय समिति प्रणालीका विषयलाई पनि समेटिएको छ ।
प्रतिक्रिया दिनुहोस्