
काठमाडौं, माघ २१ । कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले खाद्यवस्तुका कारण मृत्यु भएको सम्बन्धमा सबै उद्योगी, व्यवसायी दोषी बन्ने कानूनी प्रावधान राख्न नहुने बताउनुभएको छ ।
शुक्रबार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ को प्रारम्भिक मस्यौदा प्रतिवेदनमाथिको छलफलमा यादवले खाद्यवस्तुको कारणले कसैको निधन भएमा उत्पादक कम्पनी तथा उद्योगी व्यवसायीलाई मात्रै दोषी देखाउन नहुने धारणा राख्नुभएको हो ।
नेपालमा कतिपय मृत्यु असन्तुलित खानाको कारण हुनेगरेको भन्दै उहाँले खाद्य पद्धार्थको सेवनका कारण निधन हुँदा उद्योगीलाई अपराधी बनाउने हो भने उद्योग, व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आउने उद्योगीहरुको गुनासो रहेको उहाँले बताउनुभयो । यद्यपी उत्पादक कम्पनी, उद्योगी, व्यवसायीलाई अनुशासनमा राख्न कारबाही, दण्ड, सजायको व्यवस्था राखेपनि कडा व्यवस्था राख्नु नहुनेमा उहाँले जोड दिनुभयो ।
मन्त्री यादवले खाद्यवस्तुको परीक्षण, निरीक्षण तथा बजार अनुगमनको जिम्मेदारी स्थानीय तहलाई दिनुपर्ने पनि बताउनुभयो । मुलुक संघीय संरचनामा रहेको भन्दै उहाँले संघीयताको मूल मर्म अधिकारको बाँडफाँट भएकाले ऐनले आवश्यक अधिकार स्थानीय तह र प्रदेशलाई पनि दिनुपर्ने उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्