
काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी सेवा प्रदायकलाई अन्तरआवद्धता सेवा लागू गर्न निर्देशन दिएको छ । केन्द्रीय बैंकले शुक्रबार सूचना जारी गरेर सानो परिणामको भुक्तानीका लागि सर्वसाधारणले प्रयोग गर्ने प्रणालीबीच हुनै पर्ने व्यवस्था लागू गरेको जनाएको छ ।
राष्ट्र बैंकले एउटा सेवा प्रदायकबाट अर्को सेवा प्रदायकलाई भुक्तानी गर्न सक्ने गरी प्रणाली बनाउन भनेको छ । यो निर्देशनसँगै अब कुनै वालेटबाट अर्को वालेटमा पैसा पठाउन सकिनेछ । एउटा वालेटबाट अर्को कम्पनीको वालेटमा रकम पठाउन सकिने व्यवस्था यस अघि अनिवार्य थिएन ।
यस्तै, व्यवस्था क्यूआरका लागि पनि लागू हुने राष्ट्र बैंकले बताएको छ । क्यूआर कोडमा ९५ प्रतिशत भन्दा ठूलो हिस्सा फोन पेको मात्रै थियो । अर्को कम्पनी स्मार्ट क्यूआरको सबै ठाउँमा सेवा विस्तार भई नसक्दा भुक्तानीमा सर्वसाधारणलाई समस्या हुने गरेको थियो । फोन पेको क्यूआर र स्मार्ट च्वाइसको क्यूआर एक अर्कामा अन्तरआवद्धता नहुँदा भुक्तानीमा अप्ठेरो पर्ने गरेको थियो ।
अब ६ महिनाभित्र एकले अर्काको क्यूआर सहजै स्वीकार गर्नुपर्ने राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले जानकारी दिनुभयो । ६ महिनाभित्र सबै कम्पनीहरुले सम्झौता गरी एक अर्कामा अन्तरआवद्धता भइसक्नु पर्नेछ । कुनै कारणले हुन नसके राष्ट्र बैंकलाई जानकारी गराउन समेत निर्देशन दिइएको पौडेलले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्