
काठमाडौं । मधेश प्रदेश सरकारले किसानको समस्या पहिचान तथा समाधान गर्न उच्चस्तरीय समिति गठन गरेको छ ।
आज बसेको प्रदेश मन्त्री परिषद्को बैठकले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विजय कुमार यादवको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो ।
समितिमा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री शत्रुधन महतो , आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साह, अर्थमन्त्री शैलेन्द्रप्रसाद साह र खानेपानी तथा ऊर्जा विकासमन्त्री ओम प्रकाश सर्राफ रहेका छन् ।
समितिलाई कृषि तथा पशुपक्षी विकास, किसानको मलखाद, बिउविजन तथा सिँचाइ समस्या, बीमाको अवस्था, डुबान कटानको अवस्था, कृषि यान्त्रिकीकरणको अवस्था र आगामी रणनीति, कृषि विद्युतीकरणको अवस्था, मधेश प्रदेशको भू–उपयोग नीति निर्माण एवं मधेश सरकारले कषि सुधारको लागि गरेको गतिविधिको समिक्षा एवं आगामी योजनाबारे नीति निर्माण गर्ने जिम्मेवारी दिइएको सरकार प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिनुभयो ।
पछिल्लो समय सिके राउत नेतृत्वको जनमत पार्टीले चुनाव केन्द्रित किसान आन्दोलन चर्काएपछि प्रदेश सरकारले उक्त निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस्