१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


फरक क्षमता भएकाहरूको जीवनमा रेडक्रसले ल्याएको परिवर्तन


143
Shares

काठमाडौं । भोजपुरको अरुण गाउँपालिका–४ चरम्बी, ६ जरायोटार र ७ सिक्रेटारका विपन्न, गरिब तथा फरक क्षमता भएकाहरूको जीवनस्तर परिवर्तन हुँदै गएको छ ।

प्राकुतिक विपद् र आर्थिक संकटबाट ग्रसित उनीहरूलाई नेपाल रेडक्रस सोसाइटीले विपद्‍मा परेका स्थानीयलाई उद्धार, राहत तथा प्रतिकार्यका विभिन्न तालिम दिएपछि जीवनयापन सहज बन्दै गएको हो ।

रेडक्रसले प्रभावित क्षेत्रका स्थानीयलाई लक्षित गरी फरक क्षमता भएकाहरूको आफन्तलाई सीपमुलक तालिम तथा सहायता समाग्री र आर्थिक सहयोग प्रदान गरेपश्चात आफ्नो जीवनमा परिवर्तन आएको स्थानीय बताउँछन् ।

रेडक्रसले विपद्को जोखिममा पर्नसक्ने उक्त क्षेत्रका फरक क्षमता भएका व्यक्तिहरूलाई लक्षित गरी विकासमुलक, चेतनामुलक तथा संरचनागत विकास गरेर उनीहरूको सरल जीवनयापनमा टेवा पुर्‍याएको सोसाइटीका तेज श्रेष्ठको दाबी छ ।

रेडक्रसले तालिम दिएपछि आफूले बाख्रा पालन सुरु गर्नुका साथै व्यवस्थित कृषि खेती गर्न थालेको अरुण गाउँपालिका–७ सिक्रेटारका तेज बहादुर रम्तेलले बताउनुहुन्छ । बाख्रापालबाटै आफूले गतिलो आम्दानी गर्नुका साथै छोराछोरीलाई पनि राम्रो शिक्षा दिन सकेको उहाँको भनाइ छ ।

रेडक्रसबाट सीप सिकेर दैनिकी चलाउनुका साथै परिवारको आर्थिक गर्जोसमेत टारेको स्थानीय बताउँछन् । फरक क्षमता भएका स्थानीय लोकेन्द्र खड्का, आफूहरूको जीवनमा परिवर्तन आएको बताउँदै अन्य मानिसका लागिसमेत प्रेरणाको स्रोत बन्न सकेकोमा खुसी हुनुहुन्छ ।

रेडक्रसले सञ्चालन गरेको कार्यक्रमबाट अरुण गाउँपालिकाका ४, ६ र ७ का लक्षित वर्गको जीवनमा आएको परिवर्तन उदाहरणीय छ । केही समयअघि समाजबाट अपहेलित उनीहरू अहिले सुरक्षित र उदाहरणीय जीवन बिताइरहेका छन् ।