२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


लमजुङमा ८ टनले घट्यो मह उत्पादन


130
Shares

लमजुङ । जिल्लामा घर पालुवा मौरीको मह उत्पादनमा कमी आएको छ ।

गत वर्षको तुलनामा यस वर्ष मह उत्पादनमा कमी आएको मौरीपालक कृषक बताउँछन् । प्रतिकूल मौसम, शीतलहरका साथै विभिन्न रोगका कारण मह उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

यस वर्ष ११ हजार ५ सय मौरी घारबाट ३० टन मह उत्पादन भएको र यो गतवर्षको भन्दा आठ टन कम रहेको केन्द्रको भनाइ छ । गत वर्ष जिल्लाका किसानले ११ हजार एक सय मौरीका घारबाट ३८ टन मह उत्पादन गरेको थियो ।

नेपाल मौरीपालक महासंघ जिल्ला शाखा लमजुङका अनुसार जिल्लाको सबैभन्दा बढी उत्पादन हुने सुन्दरबजार र बेसीसहर नगरपालिका तथा मर्स्याङ्दी गाउँपालिका रहेका छन् । शाखामा दर्ता भएका ३ सय ८२ जनाभन्दा बढी मौरीपालक किसान छन् ।

मौरीपालक किसानलाई मौरी व्यवसायमा आकर्षित गर्दै मह उत्पादनमा वृद्धि गर्नका लागि यस वर्ष कृषि ज्ञान केन्द्र, बेसीसहर र सुन्दरबजार नगरपालिकालगायत विभिन्न स्थानीय तहहरुले ५० प्रतिशत अनुदानमा आधुनिक मौरी घार, मौरीसहितको मौरी घारलगायत विभिन्न उपकरणहरु वितरण गरेको थियो ।