
काठमाडौं । वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त श्रवण गर्नुभएको छ ।
आइतबार सो अवसरमा उहाँले काठमाडौंको वसन्तपुरस्थित हनुमानढोकाको नासाल चोकमा वसन्त श्रवण गर्नु भएको हो ।
सो अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना सहभागी हुनु भएको थियो ।
विशेष गरेर आइतबार वसन्त पञ्चमी तथा सरस्वती पूजाका दिन हनुमानढोका दरबारस्थित नासाल चोकमा राष्ट्रप्रमुखलाई वसन्त श्रवण गर्ने प्रचलन रहेको छ । यो प्रचलन राजा प्रताप मल्लको पालोदेखिनै गर्दै आएको पाइन्छ ।
वसन्त श्रवणको अवसरमा राष्ट्रपति भण्डारीले देवी सरस्वतीको पूजा आराधना समेत गर्नुभएको छ । वसन्त पञ्चमीको दिनमा वसन्त श्रवण गरेमा मात्रै पनि सुख, शान्ति र समृद्धि प्राप्त हुने शास्त्रोक्त कथन छ ।
वसन्त पञ्चमीको दिनबाट वसन्त ऋतु शुरुवात भएको मानिन्छ भने यस दिनबाट नै संसारको स्वरुपले नै नयाँ रुप लिने विश्वास रही आएको छ ।
प्रतिक्रिया दिनुहोस्